लमजुङ । लमजुङमा विगत २४ घण्टाको अवधिमा ८६ पटक भूकम्प गएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिकाको भुलभुलेलाई केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ः४२ बने ५ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यसयता बिहिबार बिहान ५ः५१ मिनेटसम्मको अवधिमा पटक–पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यो अवधिमा चार रेक्टरभन्दा माथिका ६ वटा र सो भन्दा कम रेक्टरका ८२ वटा भूकम्पको धक्का महसुस भएको छ । चारभन्दा माथि बुधबार बिहान ५ः४२ मिनेटमा ५ दशमलव ८, ८ः१६ मिनेटमा ४, ८ः१७ मिनेटमा ४ दशमलव १, ८ः२६ निनेटमा ५ दशमलव ३, बुधबार राति ९ः२३ मिनेटमा ४ र १०ः३९ मिनेटमा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । बिहिबार बिहान ५ः५१ मिनेटमा ३ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको छ ।
पटक–पटक भूकम्प जाँदा जिल्लाबासी त्रसित भएका छन् । बुधबार बिहानदेखि साँझसम्म नै भूकम्पको त्रासले आजित बनाएको जिल्लाबासीलाई रातिको समयमासमेत पटकपटक भूकम्पको धक्का जाँदा राम्रोसँग सुत्न त के, घरभित्र बस्न पनि समस्या भयो । कतिपय स्थानीयवासी रातभरि घरबाहिर नै सुते भने कति नसुति भित्र बाहिर गरिरहे । जिल्लामा भूकम्प जाँदा सहजरूपमा बाहिर बस्न सक्ने स्थितिसमेत थिएन । रातिको समयमा वर्षा भइरहेकाले थप समस्या भएको स्थानीयवासीले जनाएका छन् । यति कुराको मात्र डर सीमित छैन जिल्लावासी । कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै निषेधाज्ञासमेत जारी गरिएको छ । सङ्क्रमणको जोखिम र निषेधाज्ञाका क्रममा घरबाहिर ननिस्कन र भीडभाड नगर्न भनिएको छ । तर, भूकम्पले उनीहरु घर भित्र बस्न सकेका छैनन् ।
भूकम्प जाँदा जिल्लाबासी घरबाहिर निस्कन बाध्य भए । कोरोना सङ्क्रमण परीक्षण नगरेकाहरुलाई सङ्क्रमणको जोखिम भए सबैलाई सर्ने सम्भावनाले पनि मन आत्तिएको बेँसीशहर नगरपालिका–८ की सिर्जना श्रेष्ठले बताइन् । उनले भनिन्, ‘कोरोनाको यस्तो जोखिम मोलेर पनि भूकम्प आउँदा बाहिर निस्किएर अन्य स्थानीयवासी भएकै ठाउँमा गएर बस्ने र भूकम्प धक्का कम भएपछि घरभित्र गरेर राति बिताइयो ।’ सिर्जना जस्तै समस्या अधिकांश जिल्लाबासीको छ । भूकम्पले जिल्लामा छ जना घाइते भए भने २ सय घरमा क्षति पुर्याएको छ । भूकम्प पटक–पटक गइरहेकाले अझै घर तथा मानवीय क्षति हुन्छ कि भन्ने डरले स्थानीय आत्तिएका छन् ।
यता भूकम्प मापन केन्द्रले भूकम्पको धक्का अब रोकिन वा अझै ठूलो आउन सक्छ यकिन भन्न नसकिने जनाएको छ । यता, प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले विपद्को घडीमा सबैलाई एकजुट भएर अघि बढ्न र नआत्तिनलाई जिल्लाबासीलाई आग्रह गरेका छन् ।