- संगालोखबर सम्वाददाता

धनकुटा । गाउँ–गाउँमा कोरोना संक्रमण फैलिरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरबासीहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउँने औषधि खुवाउँन थालेको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउँनका लागि हरेक नागरिकलाई कम्तिमा एक महिना सेवन गर्न पुग्ने गरी होमियोप्याथिक औषधि निःशुल्क वितरण गर्न थालिएको हो ।

Advertisement

नगरबासीको रोग प्रतिरोधात्मक क्षमता बृद्धि गरेर कोरोनासहित अन्य रोग लाग्नबाट बचाउँन सबै नगरबासीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउँने औषधि खुवाउँन लागिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले बताए । ‘अहिले गाउँ–गाउँमा कोरोना फैलिएको छ । सतर्कता अपनाउँदा अपनाउँदै पनि कोरोना लागिरहेको छ । कोरोनाको औषधि पनि नहुँदा यसको नियन्त्रणमा निकै चुनौति देखिएकाले नगरबासीलाई बचाउँन वैकल्पिक उपाय खोजेका हौं,’ मेयर नेपालले भने, ‘हामीले महालक्ष्मी नगरबासी सबै नागरिकलाई यो औषधि खुवाउँदैछौ । इम्युनिटी पावर बढ्यो भने कोरोनासहित अन्य रोगको पनि संक्रमण कम होला भन्ने अनुमान गरेका छौं ।’

डाक्टरहरुसँगको परामर्श अनुसार महालक्ष्मी नगरपालिकाले यो अभियान सुरु गरेको हो । रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने भएकाले यो औषधि सेवनका लागि स्वास्थ्य मन्त्रालयले पनि अनुमति दिएको बताइएको छ । अहिले धनकुटा सदरमुकामस्थित जनभावना होमियोप्याथिक हस्पिटलसँगको सहकार्यमा औषधि वितरण थालिएको छ । जनभावना हस्पिटलका सञ्चालक डा.खगेन्द्र कटुवालसहित स्वास्थ्यकर्मी, जनप्रतिनिधि र नगरका कर्मचारीहरु औषधि वितरणमा खटिएका छन् ।

सबै नगरबासीलाई औषधि सेवन गराउँनका लागि नगरपालिकामार्फत वडा कार्यालय, टोलका अध्यक्ष र महिला स्वास्थ्य स्वयंसेवीकाहरुमार्फत औषधि वितरण गर्ने तयारी गरिएको छ । पहिलो चरणमा वडा नं. १, २, ६, ८ र ९ वडा कार्यालयमा औषधि पुर्याइसकिएको छ । वाँकी सबै वडामा पनि केही दिनभित्रै औषधि पुर्याएर सबै नागरिकलाई औषधि वितरण गरिने बताइएको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउँने होमियोप्याथिक औषधि भएकाले सबै उमेर समूहका मानिसले यो औषधि सेवन गर्न मिल्ने जनभावना हस्पिटलका सञ्चालक डा.कटुवाल बताउँछन् । ‘हरेक व्यक्तिमा रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता हुन्छ, त्यो कमजोर भयो भने बिभिन्न रोग लाग्छन् । रोग प्रतिरोधात्मक क्षमता मजवुत भएका व्यक्तिले कारोना जस्ता धेरै रोगका भाइरसलाई पराजित गर्न सक्छ ।’ डा.कटुवाल भन्छन्, ‘हामीले अहिले एक महिनासम्म सेवन गर्न पुग्ने गरी हरेक व्यक्तिलाई १८÷१८ गोली ‘इम्युन बुष्टर’ औषधि दिदैंछौ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँने काम गर्छ । जसका कारण कोरोना मात्र नभई जुनसुकै रोगको पनि संक्रमण कम गर्छ ।’

महालक्ष्मी नगरको कूल जनसंख्या करिब ३० हजार छ । कतिपय व्यक्ति गाउँमा नभएकाले अहिले २० हजारलाई औषधि तयारी गरिएको छ । नपुगेमा थप गरेर सबै नगरबासीलाई औषधि खुवाइने उप–मेयर मञ्जु अधिकारीले बताइन् । पहिलो चरणमा एक महिनाका लागि सबैलाई यो औषधि खुवाउँने र त्यसको प्रभावकारीता हेरेर पुनः औषधि थप्न सकिने महालक्ष्मी नगरपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!