ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

बि.सं.२०७८ साल बैशाख ३० गते बिहीवार ई.सं.२०२१ मे १३ नेपाल सम्बत ११४१ पोहेलागा द्धितीया, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, बैशाख शुक्ल द्धितीया, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र अतिगंड योग बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः१६ बजे, सूर्यास्त साँझ ६ः४४ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर १६ मिनेट देखि ६ बजेर ५७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बन्द व्यापार र कृषिक्षेत्रमा मध्यम छ । धनागमका दृष्टिले आजको दिन सामान्यतया ठिकैको दिन रहने छ, तर व्यवहारिक कठिनाइको सामना गर्नु पर्ला । आहारविहार र खानपानको समय बदलिन सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सचेत रहनु होला, बोलीमा खासै प्रभाव रहने छैन । तपाईंको भावनाको कदर नहुनसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । कुनै भौतिक सामान खरिद गर्नका बेलुकीपख राम्रो छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । अपराह्नपछि धनभावमा चन्द्रमा प्रवेश हुनाले आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्न सक्छन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मनमा दोधार भए पनि अन्त्यमा उत्साह र उमङ्गमा कमी हुने छैन । महत्वपूर्ण निर्णय लिनु छ वा यात्राको योजना छ भने साँझपख राम्रो हुनेछ । दिनको सुरुवातमा साथीभाइ र घरपरिवारबाट सोचेको सहयोग प्राप्त हुँदैन । तर अपराह्नतिर विलासिता र रमणीयतातर्फ मन आकर्षित हुनेछ । भोगविलास र रामरमाइलोमा खर्चबृद्धि हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
बन्दव्यापार र उद्योगधन्दामा सफल नै भइनेछ, सरकारी वा प्रशासनिक क्षेत्रमा सक्रिय हुनुपर्ने समय छ । अपराह्नमा बाह्रौं भावमा चन्द्रमाको प्रवेश हुनेछ । मनमा निराशापन बढ्ने छ, कामधन्दामा समय दिन मन लाग्दैन, अल्छीपन र आलस्य जाग्नसक्छ । असन्तुष्टि, चिडचिडेपना आदि बढ्न थाल्नेछ । अशुभ समाचारको आगमनले मनमा उदासी छाउने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा सक्रिय भइनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पुग्ने छ । आज भाग्यमा रहेको चन्द्रमा कर्मक्षेत्रमा प्रवेश गर्दैछ, अतः व्यापार गर्नेले बेलुकीपख सोचेजस्तै लाभ लिन सक्नेछन । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कर्मप्रति निष्ठा राखी अघि बढ्दा अन्त्यमा सफलता नै आर्जन हुनसक्ने दिन छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । दिन छिप्पिंदै जाँदा भाग्यबल बढ्दै जाने समय छ । साँझमा परिवारमा रमाइलो जमघट हुनेछ । हाँकेका ताकेका काममा सफलता मिल्दै जानेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मन भावुक बन्न सक्छ । एकाबिहानै के गर्ने के नगर्ने भन्ने विषयमा दोधार देखिने छ । यद्यपि घरपरिवारबाट सहयोग प्राप्त हुने नै छ । साथीभाइले साथ दिनेछन । व्यापार÷व्यवसायमा ठिकै छ, तर दिन ढल्दै जाँदा खिन्नता र चिडचिडेपना अझ बढ्ने छ । अपराह्नपछि आठौं घरमा चन्द्रमा रहेकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
व्यवसाय र रोजगारीको क्षेत्र राम्रो छ । दिनको प्रारम्भमा गरेका चिन्तन र उपाय महत्वपूर्ण बन्ने छन । मन ज्ञानगुन, अध्यात्म र दर्शनप्रति आकर्षित बन्ने छ, पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन । भाइबहिनी वा सन्ततिपक्षले खुसीको वातावरण बनाउने छन । तिनीहरूको समस्यामा केन्द्रित हुनुपर्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
घरपरिवारमा खुसीको वातावरण छाउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । इष्टमित्र र नातेदारका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुकीपख दार्शनिक र आध्यात्मिक विषयवस्तुको आकर्षण बढ्ने देखिन्छ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
नयाँ काममा हात हाल्नु त्यत्ति उपयोगी हुँदैन । समग्रमा आज मध्यमफल प्राप्त हुन्छ । राम्रो÷नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । विभिन्न ठाउँको यात्रा हुने समय आएको छ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ । व्यापार व्यवसायबाट पनि भनेजस्तो फाइदा लिन सकिंदैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!