
नौ महिना गर्भमा राखी
अनेकौं दुख र कष्टलाई
हर्षमा बदली
मन्ध मुस्कानमा मुस्कुराउने
शक्ति भएकी
देवी हुन् आमा ।
दिनभरिको थकान
खाली पेटमा हाल्दै गरेका
ती भातका गासहरुलाई
झ्याप्प रोक्ने
मध्य रातमा आफ्नो सन्तान
च्यार च्यार रुदा जुरुक्क उठ्ने
सामथ्र्य भएकी
देवी हुन् आमा ।
आफू नखाई नखाई
भोक र तिर्खा खपेर
सन्तानलाई खुवाउने
आफ्नो शरीरमा लगाएको
फरिया र चोली ध्वार्र च्यात्ने
अनि सन्तानको गुप्ताङ्ग छोप्ने
हिम्मत भएकी
देवी हुन् आमा ।
सन्तानले समयमा खाएन
अनि उठेन भने
आत्तिने र अतालिने
एक मात्र व्यक्ति हुन् आमा
तिर्नुछ,
आमाको दशधारा दुधको भार
वर्षमा एकदिन
वृद्धाश्रममा भेट्न गएर
अनि फेस्बुकको भित्तामा
फोटो हालेर होइन
खेल्नु छ सधै आमाको काखमा
बस्नु छ जिन्दगी भरी हाँसी खुसी
आमाकै साथमा ।