संगालोखबर सम्वाददाता

विराटनगर । पछिल्लो समय ‘डबल म्युटेन्ट भेरिएन्ट’ सहितको कोरोना भाईरसको संक्रमण तीव्र भएसँगै संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्न थालेको छ । यो सँगै निजी अस्पतालद्वारा सञ्चालित आईशोलेशन सेन्टर तथा कोभिड अस्पतालहरु पनि भरिएका छन् । कोभिड अस्पतालमा नयाँ बिरामी भर्ना लिन सकिने अवस्था छैन् ।

Advertisement

कोरोना संक्रमितको संख्या उकालो लागेसँगै विराटनगरका निजी अस्पतालद्वारा सञ्चालित कोभिड अस्पतालहरु पनि भरिएका छन् । कोरोना संक्रमितको उपचार गरिरहेका विराटनगरका दुई मेडिकल कलेजको बेड भरिएपछि शनिबार रातीबाट यी अस्पतालमा थप संक्रमितहरुले भर्ना पाएका छैनन् । विराट मेडिकल कलेजले शुक्रबार यता नयाँ बिरामी भर्ना लिएको छैन भने नोबेल मेडिकल कलेजले पनि शनिबार रातीबाट बिरामी भर्ना गर्न सकेको छैन ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजले कूल १ सय ४ बेडको स्वीकृत प्राप्त कोभिड अस्पताल सञ्चालन गरिरहेको छ । जसमा तत्काल ७७ वटा बेड सञ्चालनमा छन् । तर शनिबार दिउँसोसम्म मात्र ३८ जना संक्रमित भएको सो अस्पतालमा आईतबार बेलुकासम्म ७७ वटै बेड भरिएको छ । हाल अस्पतालमा भर्ना भएका ३७ जना संक्रमितहरुलाई आई.सि.यु मा राखेर उपचार भईरहेको छ । अस्पतालमा नयाँ बिरामी भर्ना लिनसक्ने अवस्था नरहेको अस्पतालका प्रबन्धक नारायण दाहालले बताउँछन् ।

यता मोरङको बुढीगङ्गा–२ स्थित विराट मेडिकल कलेजको अवस्था पनि उस्तै छ । अस्पतालको कोभिड उपचार केन्द्रमा १०६ जना सर्वसाधारणसहित अस्पतालकै १४ जना कर्मचारीहरुको उपचार भईरहेको छ । बिरामीको चाप अत्यधिक बढेसँगै अस्पतालले थप ७ वटा आई.सि.यु बेड थप्ने गृहकार्य सुरु गरेको छ । तर तत्कालै नयाँ बिरामी भर्ना लिनसक्ने अवस्था नरहेको कोभिड अस्पतालका ईञ्चार्ज सुनिल देवको भनाई छ ।

यता विराटनगरस्थित प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भने हाल ६१ वटा बेड खाली छ । आई.सि.यु २१, एच.डी.यु २९, भेन्टिलेटर २०, जेनेरल १३ र अक्सिजनसहितको ३३ जेनेरल बेडसहित सञ्चालनमा रहेको यस अस्पतालमा हाल ३५ जना बिरामीहरुको उपचार भईरहेको उपचार केन्द्रका संयोजक डा. बैजनाथ शाहले जानकारी दिए ।

हाल नेशनल ट्रेडिङको दुई तल्ले संरचनामा निर्मित ८० बेडको उपचार केन्द्र मर्मत सम्भारका लागि तत्काल बन्द गरिएको छ । सबै बेडमा अक्सिजनको पाईपलाइन पु¥याउन अस्पताल बन्द गरिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हाल सबै कोभिड अस्पतालहरुमा भने अक्सिजनको लेभल कम भई श्वासप्रश्वासमा समस्या भएका बिरामीहरु आउने गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!