संगालोखबर सम्वाददाता

काठमाडौँ । मुख्यमन्त्रीबाट राजीनामा दिएकै दिन लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएका छन् । आइतवार बिहान पदबाट राजीनामा दिएका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले दिउँसो मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

Advertisement

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएको प्रेस विज्ञप्ति जारी गरेर जनाएका छन् । ‘आज मिति २०७८ वैशाख १९ का दिन माननीय प्रदेश प्रमुख श्री धर्मनाथ यादवज्यूले नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता माननीय श्री शंकर पोखरेलज्यूलाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ,’ प्रवक्ता पौडेलले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘यस अघि नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्विनी प्रदेश संसदीय दलका नेता माननीय श्री शंकर पोखरेलज्यूले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित माननीय प्रदेश प्रमुखज्यू समक्ष दावी पेश गर्नुभएको थियो ।’

पोखरेलले आइतबार बिहान प्रदेश प्रमुख यादव समक्ष राजीनामा पत्र बुझाएका थिए । लगत्तै उनको राजीनामा स्वीकृत भयो । मुख्यमन्त्री पोखरेलविरुद्ध वैशाख ६ गते कांग्रेस–माओवादीसहितका दलले अविश्वास प्रस्ताव ल्याएका थिए । पोखरेललाई विश्वासको मत लिन ४१ सांसद चाहिन्छन् । एमालेभित्र ४१ सांसद छन् । तर, मुख्यमन्त्री पोखरेलको राजीनामापछि एमालेतर्फकी सांसद विमला वलीले माओवादी केन्द्रलाई साथ दिने बताएकी छन् । जसका कारण एमालेलाई एकल बहुमतको सरकार बनाउन अप्ठेरो स्थिती सृजना भएको छ । तरपनि, प्रदेश प्रमुख यादवले पोखरेललाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!