वि.सं. २०७३ साल फागुन ३ गते। मंगलबार। इश्वी सन् २०१७ फेब्रुवरी १४ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– चतुर्थी, ३०:२६ बजेउप्रान्त पञ्चमी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ 

काम रोकिनाले फाइदाको सम्भावना टर्न सक्छ। आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउने कोसिस गर्लान्। झूटा आरोप समेत आइलाग्ने समय छ। सरकारी कडिकडाउको सिकार भइनेछ। मालमत्ता हराउन सक्छन्। आर्थिक कारोबार गर्दा अलि सजगता अपनाउनुहोला। अनावश्यक दौडधुपमा समय बित्नेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्नुहोला।

Advertisement

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। कमजोर मानसिकताले पछि परिनेछ। स्वास्थ्यका कारण काम रोकिन सक्छ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। पछिका लागि फाइदा हुने भए पनि सोचेको फाइदा तत्काल नहुन सक्छ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

सामाजिक कार्यले हौसला दिलाए पनि घरेलु समस्याले निराश तुल्याउन सक्छ। बेसुरमा दिएको वचनले अप्ठ्यारो पर्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। समस्या दर्साउँदा सहयोगीहरू भने फेला पर्नेछन्। परिवारमा आमाको सहयोगबाट फाइदा मिल्नेछ। आफन्तको साथ जुट्नेछ। सम्झौताले उत्साह जगाउनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

परिस्थितिवश काममा समय दिन नसकिएला। अवरोधका साथै कममात्र फाइदा हुने समय छ। सहयोगीहरूले हात झिक्नाले पनि अप्ठ्यारोमा परिएला। आर्जित धन खर्च हुन सक्छ। पहिलेको समस्याले केही झमेला निम्त्याउन सक्छ। योजना कार्यान्वयनमा ल्याउन समस्या आइपर्ला। अधिकार सुरक्षा गर्न समेत जुट्नुपर्ला। धैर्य एवं लगनशीलताले फाइदा दिलाउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने मौका मिल्न सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरूले साथ दिनेछन्। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

 तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। बलमिच्याइँले हानि पुर्याउन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। धैर्यले काम लिँदा प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ फेला पर्नेछन्। लामो यात्रा सम्भावना छ। अनजानको गल्तीले हानि पुर्याउन सक्छ।

 बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा पनि राम्रै प्रगति होला। उठ्नुपर्ने रकम हातलागी हुनाले आम्दानी बढ्नेछ। साथीभाइको सहयोग जुट्नाले दाम, इनाम र प्रतिष्ठा कमाउन सकिनेछ। अचल सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा प्रशस्त फाइदा हुनेछ। दिगो फाइदाका लागि लगानी बढाउन पनि सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला। प्रतिष्ठा र पदको आश्वासन देखाउनेहरूले घात गर्नेछन्। शासकवर्गबाट पनि धोका हुन सक्छ। वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ। फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा कमै फाइदा हुनेछ। मेहनत गर्दा दैनिकीमा सुधार आउन सक्छ।

 मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला। व्यावसायमा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। तापनि नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। सेवामूलक काममा जुट्नेहरूलाई भने फाइदै हुने समय छ। मेहनतले नयाँ जिम्मेवारी दिलाउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

सानातिना काममै अल्झनुपर्दा लक्ष्य प्राप्तिमा बाधा होला। काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। तापनि, समस्याले परिस्थितिसँग जुध्न सिकाउनेछ। शुभचिन्तकहरू जुट्नाले आस मारेको फल पुनः प्राप्त हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) – नेपाली पात्रो 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!