संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अब कोरोना संक्रमितको उपचार निःशुल्क हुँने भएको छ । कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नोबेल अस्पतालबीच बिहिबार सम्झौता भएको हो ।

सम्झौता पत्रमा स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा.गुणराज लोहनी र नोबेल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्रप्रसाद उपाध्यायले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नोबेल अस्पतालमा कोरोना संक्रमितको उपचारमा लाग्ने खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ब्यहोर्ने छ ।

स्वास्थ्य मन्त्रालयसँग सम्झौता भएकाले अब जुनसुकै कोरोना संक्रमित नेपालीले नोबेलमा निःशुल्क उपचार पाउँने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले बताए । ‘कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने विषयमा स्वास्थ्य मन्त्रालयसँग सम्झौता भएको छ,’ डा.शर्माले भने,‘अब जुनसकै नेपाली नागरिक कोरोना संक्रमित भएर आएमा नोबेलमा निःशुल्क उपचार पाउँनेछन् ।’

निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सबैभन्दा ठूलो अस्पताल हो नोबेल । निजी क्षेत्रको ठूलो र स्तरीय अस्पतालमा कोरोनाको उपचार निःशुल्क हुँने भएपछि अब पूर्वी नेपालका कोरोना संक्रमितको उपचारमा थप सहजता मिल्ने भएको छ । नोबेलले कोरोना संक्रमितको उपचारका लागि १ सय बेडको कोभिड वार्ड र ३९ बेडको कोभिड आइसियू छुट्याएको छ । आवश्यकता अनुसार वेड बढाइने नोबेल अस्पतालले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!