- संगालोखबर सम्वाददाता

काठमाडौं। काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले १ हजार ५ सय रुपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ । नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेका बेला केएमसीले शुक्रबारबाट पीसीआर परीक्षण शुल्क घटाएको हो ।

सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकेको छ । सरकारले तोकेको भन्दा पाँच सय रुपैयाँ कम शुल्कमै केएमसीले पीसीआर परीक्षण गर्न थालेको हो । यसअघि केएमसीले १ हजार ९ सय ९९ मा पीसीआर परीक्षण गर्दै आएको थियो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेकाले संकटको अवस्थामा सर्वसाधरणलाई केही राहत पुर्याउँन पीसीआर परीक्षण शुल्क घटाइएको केएमसीका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए । ‘हामीले पहिलेदेखि नै न्यून शूल्कमा पीसीआर परीक्षण गराउँदै आएका छौं,’ डा.शर्माले भने,‘अहिले फेरी कोरोना संक्रमण बढ्न थालेको छ । यस्तो संकटका बेला सबैले सकेको सहयोग गर्नुपर्छ भनेर शुल्क घटाएका हौं ।’

पूर्वमा प्रतिष्ठित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले गत भदौं महिनाबाट केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । कोरोना महामारीमा सरकारले पीसीआर परीक्षण शुल्क ४ हजार ४ सय तोकेका बेला डा.शर्माले केएमसीमा २ हजार ५ सयमै पीसीआर परीक्षण गराएका थिए । सरकारले तोकेको भन्दा १ हजार ९ सय रुपैयाँ कम शुल्कमै पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएर डा.शर्माले प्रशंसा कमाए । बढी शुल्क तोकेको भन्दै सरकारको आलोचना भएपछि पीसीआर परीक्षण शुल्क घटाउँन सरकार बाध्य भएको थियो ।

सुरुवातदेखि नै सरकारले तोकेको भन्दा कम शुल्कमै पीसीआर परीक्षण गराउँदै आएको केएमसीले अहिले पुनः शुल्क घटाएर १ हजार ५ सयमा झारेको हो । पीसीआर परीक्षण गरेर छ घण्टामै रिपोर्ट दिइने केएमसीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!