सन्तोष रुचाल

धनकुटा, ४ साउन । धनकुटा नगरक्षेत्रका भूकम्प पीडितले घर बनाउँदा निःशुल्क नक्सा पास गर्न पाउँने भएका छन । जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो पटक बुधबार बसेको धनकुटा नगर कार्यपालिकाको बैठकले घर निर्माण गर्न नक्सा पास गर्दा लाग्ने दस्तुर भूकम्प पीडितका लागि शतप्रतिशत छुट दिने निर्णय गरेको हो ।

Advertisement

भुकम्पबाट घर पुर्ण रुपमा क्षति भई रातो कार्ड प्राप्त गरी नयाँ घर निमार्णका लागी अनुदान लिएका करिब साँढे चार सय घरधुरीलाई नक्सा पास गर्दा लाग्ने दस्तुर नलिने निर्णय भएको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गले जानकारी दिए ।

सामान्यतया धनकुटा नगर क्षेत्रमा कच्ची घर निर्माण गर्दा ३ हजार र पक्की घर निर्माण गर्दा न्यूनतम ६ हजार भन्दा माथि नक्सा पास वापत रकम तिर्नुपर्छ । नगरकार्यपालिकाको यो निर्णय पछि अव उक्त रकम भूकम्प पीडितले तिर्न नपर्ने भएको हो ।

त्यस्तै धनकुटा बजार क्षेत्रमा सवारी साधनको चाप बढ्दै गएकाले शहरी पार्किङ्गलाई व्यवस्थित गरी दुर्घटना तथा जोखिम न्यूनिकरण गर्न पार्किङ्ग व्यवस्थापन अध्ययन समिति पनि गठन गरिएको छ । नगरपालिका–७ का वडाध्यक्ष जंगबहादुर राईको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले आवश्यक अध्ययन अवलोकन गरी १५ दिन भित्र प्रतिवेदन पेश गर्नेछ ।

बैठकले ४ नम्बर वडाध्यक्ष जम्सेर राईलाई धनकुटा नगरकार्यपालिकाको प्रवक्ता तोकेको छ । त्यस्तै उपप्रमुख शकुन्तला बस्नेतको संयोजकत्वमा ६ सदस्यीय राजस्व परामर्श समिति गठन गरिएको छ । नगर प्रमुख चिन्तन तामाङ्गको संयोजकत्वमा ७ सदस्यीय श्रोत अनुगमन समिति र उपप्रमुख शकुन्तला बस्नेतको संयोजकत्वमा ८ सदस्यीय बजेट तर्जुमा समिति गठन गरिएको प्रवक्ता जमशेर राईले जानकारी दिए ।

उनका अनुसार धनकुटा नगरपालिकाको १, २, ६ र ९ मा वडा कार्यालय स्थापना भईसकेको छन । वाँकी वडामा पनि चाडै वडा कार्यालय स्थापना गरी सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाईने र नगरपालिकामा कार्यरत अस्थायी र करार कर्मचारीको म्याद थप गर्ने पनि निर्णय भएको छ । बैठकले नगर कार्यपालिका कार्य सम्पादन नियमावली तथा बैठक सञ्चालनका लागी कार्यविधि पनि स्वीकृत गरेको प्रवक्ता राईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!