- गोमा ढुंगाना/संगालोखबर

विराटनगर । विभागिय टिम सशस्त्र प्रहरी बल (एपीएफ) ले विराटनगरमा सञ्चालित छैठौं विराट गोल्डकपको उपाधि जितेको छ । विराटनगरस्थित सहिद रंगशालामा शनिवार राती भएको फाइनल खेलमा पाहुना टोली भारतको पंजाव पुलिसलाई १–० गोलले पराजित गर्दै एपीएफले उपाधिमाथि कब्जा जमाएको हो ।

Advertisement

खेलको ११ औं मिनेटमा प्रदिप लामाले गरेको एकमात्र गोल नै एपीएफलाई उपाधि दिलाउँन निर्णायक बन्यो । जितसँगै एपीएफले १५ लाख १५ हजार नगद पुरस्कारसहित ट्रफि हात पारेको छ भने उप–विजेता पंजाव पुलिसले ७ लाख ५१ हजारमा चित्त बुझाएको छ ।

प्रतियोगिताको म्यान अफ द टुनामेन्ट एपीएफका आशिष लामा घोषित भए । उनले पुरस्कार स्वरुप मोटरसाइकल पाएका छन् । फाइनल खेलको म्याद आफ द म्याच एपीएफका निर्णायक गोलकर्ता प्रदिप घोषित भए । उनले नगद १० हजार पाएका छन् ।

एपीएफका राजु नगरकोटी बेस्ट गोलकिपर बने । एपीएफकै सनिश श्रेष्ठ बेस्ट डिफेन्डर र मणि लामा बेस्ट मिड फिल्डर घोषित भए । खेल अवधिभर चार गोल गर्ने विराटनगर ११ का प्रकाश बुढाथोकी हाइस्कोरर बने । एपीएफका सुमित श्रेष्ठले बेस्ट कोच एवार्ड जिते । बेस्ट स्टाइगरमा संकटा क्लबका फोडे फोफना घोषित भए । उनीहरु सबैलाई जनही २५ हजारका दरले पुरस्कृत गरिएको छ । फिपा अनुशासित टिममा विराटनगर ११ घोषित भयो ।

बिजयी टिम र खेलाडीहरूलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा, विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, राष्ट्रिय खेलकुद परिषदको सदस्य हरी खड्का, विराट गोल्डकपका संयोजक मनोज विक्रम साह लगायतले पुरस्कार प्रदान गरेका छन् । विराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा २६ चैतदेखि सुरु भएको प्रतियोगिताको उपाधिका लागि तीन विदेशीसहित १० टिमबीच प्रतिष्प्रर्धा भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!