संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगरमा जारी छैठौं विराट गोल्डकपको उपाधिका लागि आज विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) र भारतको पंजाव पुलिसबीच खेल हुँदैछ । विराटनगरस्थित सहिद रंगशालामा साँझ साँढे ६ बजेदेखि सुरु हुँने फाइनल खेलमा एपीएफ र पंजाव पुलिस आम्नेसाम्ने हुन लागेका हुन् ।

Advertisement

पाहुना टोली पंजाव पुलिस पहिलो पटक विराट गोल्डकपको उपाधि नजिक पुगेको हो भने एपीएफ यो सिजनमा तेस्रो पटक उपाधि जित्ने दाउमा छ । एपीएफले क्वाटरफाइलमा विभागीय चिरप्रतिद्वन्दी नेपाल प्रहरीलाई २–० ले र सेमिफाइनलमा घरेलु टिम विराटनगरलाई ३–२ गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको हो । एपीएफ २०७० मा विराट गोल्डकपको फाइनल पुगेको थियो । त्यसबेला संकटासँग १–० गोलले पराजित भयो । यो सिजनमा तीन वटा गोल्डकपको उपाधि जित्ने लक्ष्य लिएको एपीएफले यसअघि गोलबजार गोल्डकप र जनकपुर गोल्डकपको उपाधि जितिसकेको छ ।

विराट गोल्डकपमा पहिलो पटक भाग लिएको पंजाव पुलिस सहिद स्मारक ‘ए’ डिभिजन लिग बिजेता मछिन्द्रलाई २–०, गोरखा ब्वाइज युनियन रुपन्देहीलाई ४–२ र आहा रारा गोल्डकपको च्याम्पियन तथा विराट गोल्डकपको पूर्व बिजेता संकटा क्बललाई १–० ले हराउँदै फाइनल पुगेको हो । नेपालमा पहिलो पटक गोल्डकप खेल्न आएको पंजाव पुलिस भारतको लिंक बिजेता टिम हो । एपीएफका कप्तान सुदीप सिख्राकारले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । ‘पंजाव राम्रो टिम हो । पंजावको अग्दा कद भएका खेलाडी छन् । त्यही भएर हामी टेक्निकल खेल प्रर्दशन गर्नेछौ,’ कप्तान सिख्राकारले भने,‘पंजावका अग्गा कद भएका खेलाडी भएकोले हामी ग्राउण्ड लेभलबाट खेल खेल्नेछौं ।’

यता, पंजावका प्रशिक्षक हरनेक सिंहले फाइनल भन्दा अगाडी जसरी नै खेल्ने बताए । नेपालकै प्रतिष्ठित मानिने विराट गोल्डकपको उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने उनले बताए । ‘हामीलाई थाहा छ यो धेरै प्रतिष्ठित प्रतियोगिता हो । त्यसैले हामी यसलाई उठाउन सबैभन्दा राम्रो खेल्ने छौँ,’ उनले भने, ‘आहा रारा गोल्डकपको च्यम्पियन टिमलाई जितेको हुनाले फाइनलमा उपाधि जित्नेमा हामी ढुक्क छौं ।’

विराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा चैत २६ गतेदेखि रात्रीकालिन प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको विजेताले १५ लाख १५ हजार र उप–बिजेताले ७ लाख ५१ हजार रुपैयाँ नगद पाउँनेछन् । प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गरिनेछ । प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्ड सबैलाई जनही २५/२५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!