- गोमा ढुंगाना/संगालोखबर

विराटनगर । विपक्षी दलको अवरोधका कारण सोमबार बसेको प्रदेश १ को प्रदेश सभा बैठक स्थगित भएको छ । नेपाली काँग्रेससहितका विपक्षी दलहरुले अवरोध गरेपछि छ दिनका लागि बैठक स्थगित भएको हो ।

प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो । झण्डै एक घण्टा ढिला गरेर दिउँसो करिब २ बजे बैठक सुरु भयो । बैठक सुरु हुँनासाथ विपक्षी दलका सांसदहरुले उठेर बैठक अवरुद्ध गरेका हुन् । उपसभामुख सरस्वती पोख्रेलले सांसदहरुलाई बस्न र आफ्ना कुरा राख्न पटक–पटक आग्रह गर्दा पनि उनीहरु मानेनन् ।

बैठकमा विपक्षी दलको तर्फबाट बोल्दै समाजवादी पार्टीका सांसद जयराम यादवले प्रदेश सरकार जिम्मेवार नभएकाले बैठक अवरुद्ध गरिएको बताए । मुख्यमन्त्री शेरधन राई बैठकमा उपस्थित नभएको भन्दै सांसद यादवले आक्रोश पोखे ।

प्रदेश सरकार कर्मचारीको भरमा मात्र सञ्चालन भइरहेको आरोप लगाउँदै उनले प्रदेश सरकारको काम प्रति असन्तुष्टि जनाए ।

विपक्षी दलको अवरोध कायम रहेपछि उपसभामुख पोख्रेलले बैशाख ५ गते आइतवार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेकी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!