- ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

बि.सं.२०७७ साल चैत्र २० गते शुक्रवार ई. सं. २०२१ अप्रील २ नेपाल सम्बत ११४१ पोहेलागा पञ्चमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत कृष्ण पञ्चमी, चन्द्रमा वृश्चिक राशिमा, जेष्ठा नक्षत्र, व्यतीपात योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः५३ बजे, सूर्यास्त साँझ ६ः२१ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर २६ मिनेट देखि ९ बजेर ०० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
भाग्यस्थानमा चन्द्रमाको प्रवेश हुँदैछ, तर पनि परिस्थिति विपक्षमा नै रहने सङ्केत देखिन्छ । कडा परिश्रम व्यर्थै खेर जान सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । कताकता भाग्यबलमा कमी भएको आभास गर्नु हुनेछ । बन्दव्यापार र रोजगारीको क्षेत्रमा लगनशील र सक्रिय भएमा मात्र सफलता पाउनु हुनेछ । दिउँसोबाट निराशाको अन्त्य हुनसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहने छ । प्रेमको बन्धनमा बाँधिने बेला छ । परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउने छ । काम गर्न जाँगर चल्नेछ, उत्साहवद्र्धक समय छ, आम्दानी बढ्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । माया÷प्रेमको वातावरण बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
घरपरिवारभित्रका विविध समस्यामा रुमल्लिनु पर्ने छ । आन्तरिक सम्पत्तिको लेखाजोखा र बाँडफाडका विषयमा केन्द्रित हुने दिन छ । घरबाहिर बस्नेका लागि वा वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । दार्शनिक वा बौद्धिक क्षेत्रमा दिलचस्पी बढ्ने छ । ज्ञानगुन, परोपकार र वैराग्यका भावनाहरू सञ्चरण हुन्छन । तर दिनभरि शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन । बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ । भाइबहिनीले पनि सन्तुष्ट तुल्याउने छन । भोजभतेर र खानपिन जस्ता सामाजिक कार्यमा सहभागी बन्नु पर्नेछ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनु पर्नेछ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । प्रशंसकहरू बढ्ेछन । सहयोगीहरूले काममा साथ दिनेछन । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आफ्नै राशिमा चन्द्रमा रहेकाले सामान्यतया आजको दिन राम्रै दिन हुनेछ । तर आत्म–विश्वासमा कमी आउने छ । नियमित भोजनको समेत अनुकूलता हुँदैन । रातीअबेर धनभावमा चन्द्रमाको प्रवेश हुनाले मन पर्ने वस्त्र, अलङ्कार आदि खरिद गर्न धनको जोहो हुनसक्छ । आर्थिक कारोबारमा शुभ सङ्केत पाउन सकिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
यात्राको योग छ । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । काममा बाधा देखिए पनि अत्तालिइ हाल्नु पर्दैन । बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ । कुनै गोप्य योजना कार्यान्वयन गर्न आजको दिन अनुकूल छ । बन्दव्यापारमा बेफाइदा छैन । आत्मबल र हौसला नत्यागे सफलता पाउनु हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–
पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ । मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
भाग्यको मार्गमा अवरोध आउनसक्छ । प्रेम र भाइचाराका लागि दानपुण्यमा सहभागी हुनु भएमा रोकिएको काम बन्नसक्छ । प्रयासमा सफलता प्राप्त हुने दिन छ, तर प्रतिस्पर्धी र शत्रुले तपाईंको प्रतिष्ठामा आघात पुर्याउने प्रयास गर्दैछन, विचार गर्नुहोला । ढिलै भए पनि चाहना र मनोकाङ्क्षा पूरा हुनेछन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!