- संगालोखबर सम्वाददाता

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको छ । स्पष्टिकरणको जवाफ चित्तबुझ्दो नदिएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले दुवै नेतालाई पार्टीको साधारण सदस्यबाट नै निलम्बन गरेका हुन् ।

Advertisement

ओलीपक्षीय केन्द्रीय सदस्यहरुको उपस्थितीमा चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकले पार्टी हित विपरीत गुटगत भेला गरेको लगायत आरोप लगाउँदै नेपाल र रावलसहित घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेको थियो । चैत १२ गते स्पष्टिकरणको जवाफ दिदै नेता नेपाल र रावलले विधानको उल्लंघन आफूहरुले नभई अध्यक्ष ओलीबाटै भएकाले तपाईंलाई किन कारबाही नगर्ने भनी उल्टै प्रतिप्रश्न गरेका थिए ।

स्पष्टिकरणको जवाफ चित्तबुझ्दो नदिएको भन्दै नेपाल र रावललाई कारबाही गरिएको हो । नेता नेपाललाई कारबाही गरेको जानकारी पत्रमा लेखिएको छ, ‘तपाईंले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरूसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने कार्य निरन्तर गरिरहनु भइ उक्त कार्यलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहंकार र आत्म केन्द्रीत कुराहरू उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो ।’

उनीहरुलाई सच्चिनका लागि भन्दै अन्तिम मौकासमेत दिइएको छ । ‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो । आफ्ना विचार र क्रियाकलापहरू सच्याइ पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ,’ नेता नेपाल र रावललाई पठाइएको पत्रमा भनिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!