- संगालोखबर सम्वाददाता


विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज मन्त्रीपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री राईले मन्त्रीपरिषद पुर्नगठन गर्दै चार जनालाई मन्त्री र दुई जनालाई राज्यमन्त्रीको जिम्मेवारी प्रदान गरेका हुन् । जिम्मेवारी पाउँनेमा साविकको नेकपा विवादमा प्रचण्ड–माधव समूह त्यागेर ओली पक्षलाई साथ दिने, मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावबाट हस्ताक्षर फिर्ता लिने र अहिले पुरानै पार्टी व्यूतिएपछि माओवादी केन्द्र छोडेर एमालेमा आउँनेहरु छन् ।

माओवादी छोडेर एमालेमा आएका टंक आङ्बुहाङले आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी पाएका छन् । नेकपा विवादका क्रममा प्रचण्ड–माधव पक्ष छोडेर ओली पक्षलाई साथ दिएकी उषाकला राईले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएकी छन् । त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रीमा अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा राम राना मगरलाई जिम्मेवारी दिइएको छ । गुरुङ र मगर दुवैजना यसअघि सोही मन्त्रालयको राज्यमन्त्री थिए । राना नेकपा विवादमा प्रचण्ड–माधव समूह छोडेर ओली समूहमा लागेका थिए । गुरुङ भने ओली पक्षकै हुन् ।

यस्तै, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर अन्त्यमा हस्ताक्षर फिर्ता लिएकी सांसद कला घलेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । यता, उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा राजकुमार ओझालाई नियुक्त गरिएको छ । ओझा पनि नेपाल समूह छोडेर ओली समूहमा लागेका हुन् ।

नव नियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा कार्यक्रम आयोजना गरी प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले मन्त्रीहरु तथा मुख्यमन्त्री राईले राज्यमन्त्रीहरुलाई सपथ ग्रहण गराएका हुन् ।

यसैवीच, मुख्यमन्त्री राईले मन्त्रीमण्डल विस्तारमा पक्ष, विपक्षले अवसर पाएको नभई एमालेका प्रतिनिधिहरुलाई जिम्मेवारी दिइएको तर्क गरेका छन् । ‘मन्त्री बन्ने माननीय सदस्यहरु नेकपा एमालेका तर्फबाट निर्वाचित, समानुपातिकबाट आउँनुभएको, नेकपा एमालेका सदस्यहरु हुनुहुन्छ,’ संगालोखबरकर्मीसँगको कुराकानीमा मुख्यमन्त्री राईले भने,‘याँ कुनै यो समूह, त्यो समूह भन्ने कुराको कुनै गुञ्जयस छैन ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!