विराटनगर । प्रदेश १ मा सत्तारुढ दल नेकपा एमालेको संसदीय बोर्ड गठन भएको छ । दलका नेता तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा वुधवार बसेको बैठकले १५ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो ।
बैठकले बोर्डको सदस्यमा दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतकसहित काजीमान कागते, आशारत्न जवेगु, बिमल कार्की, जसमाया गजमेर, ज्ञानेश्वर राजवंशी, बिर्ख प्रधान, अम्बिका थापा र लिलम बस्नेतलाई मनोनयन गरेको छ । यस्तै माधवकुमार नेपाल पक्षका सांसदहरु यशोदा अधिकारी, तुलसी न्यौपाने र लिलाबल्लभ अधिकारीलाई बोर्ड सदस्यमा राखिएको छ ।
माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका टंक आङबोहाङ पनि बैठकमा उपस्थित थिए । तर, आफ्नो दल त्याग गरेर एमाले प्रवेश गरेको हुनाले उनको सांसद पद नै खारेज हुने अवस्थामा पुगेपछि बैठकले उनलाई बोर्ड सदस्यको रुपमा मनोनयन नगरेको हो । कुनै एक पार्टीबाट निर्वाचित सांसदले आफ्नो दल त्याग गरेर अर्को पार्टीमा प्रवेश गर्दा सम्बन्धितको सांसद पद खारेज हुने प्रावधान छ ।
यस्तै दलले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुलाई ७ दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशनसमेत दिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले जानकारी दिए ।
सर्वाेच्च अदालतले एमाले र माओवादीलाई अलग–अलग बनाईदिएपछि पहिलोपटक बसेको दलको बैठकले हस्ताक्षर फिर्ता लिन निर्देशन गर्दै संसदीय बोर्डको विधानसमेत पारित गरेको छ । मुख्यमन्त्री राईले आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा गरिएको हस्ताक्षर ७ दिनभित्र फिर्ता नलिए विधान अनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।
बैठकमा सहभागी माधव नेपाल पक्षधर सांसदहरु तुलसी न्यौपाने, लीलाबल्लभ अधिकारी लगायतका नेताहरुले भने अविश्वास प्रस्ताव फिर्ता हुनसक्ने सम्भावना रहेको प्रतिक्रिया दिएका छन् ।