- संगालोखबर सम्बाददाता

विराटनगर । स्वदेशी उत्पादनलाई प्रर्वद्धन गर्ने उद्धेश्यले यही चैत्र ५ गतेदेखि विराटनगरमा विराट जुत्ता चप्पल व्यापार मेला आयोजना गरिने भएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालको आयोजनामा चैत्र ५ देखि बैशाख ५ गतेसम्म व्यापार मेला गर्न लागिएको हो ।

Advertisement

विराटनगरमा विगत ३ वर्ष अघिदेखि हरेक बर्ष हुँदै आएको जुत्ता चप्पल व्यापार मेलालाई आयोजकले यस वर्ष पनि निरन्तरता दिने भएको हो । कोरोना महामारीका कारण बढ्दै गएको व्यापार घाटालाई न्यूनीकरण गर्न तथा आर्थिक समृद्धि हाँसिल गर्ने लक्ष्य राखेर मेला गर्न लागिएको मेलाका संयोजक होमनाथ उपाध्यायले जानकारी दिए । मेलामा १५ भन्दा बढी नेपाली ब्राण्डका जुत्ता चप्पलहरुको खरिद बिक्री हुने आयोजकको अनुमान छ ।

मेलालाई दैनिक २० हजार बढी उपभोक्ताहरुले अवलोकन गर्ने आयोजकले जनाएको छ । मेलामा बी.एफ डियर हिल, शिखर, कोशेली, क्रसरोड, ब्याम्बु, रोयल, फस्टवक, सु–ल्याण्ड, रन, स्मार्ट, म्याजिक र हाईलाईफ ब्राण्डका ५ हजार बढी मोडेलका जुत्ता चप्पलहरुको खरिद बिक्री हुने आयोजकको दाबी छ । मेलामा १२ वटा स्वदेशी कम्पनीहरुले उत्पादन गरेका २० ब्राण्डका जुत्ताचप्पलहरु १० देखि ५० प्रतिशत छुटमा खरिद गर्न सकिने व्यापार मेलाका संयोजक उपाध्यायले बताए । मेलामा १ सय देखि १० हजार मूल्यसम्मका जुत्ताचप्पलहरुको खरिद बिक्री हुने लक्ष्य राखिएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गर्ने मेलामा २५ हजार जोर जुत्ताचप्पलको खरिद बिक्री हुने आयोजक संस्थाको अनुमान छ ।

विराटनगरको रङ्गेली रोडस्थित नेपाल बङ्गलादेश बैंकको उत्तरपट्टीको खाली संरचनामा बिहान ८ देखि बेलुका ८ बजेसम्म मेला चल्नेछ । स्वदेशी उत्पादनको प्रचारप्रसार र प्रर्वद्धनका लागि विगतमा पनि पोखरा, बुटवल, काठमाण्डौं र हेटौंडा जस्ता प्रमुख शहरहरुमा जुत्ता चप्पल व्यापार मेला गरिदै आएको छ । फुटवेयरकै क्षेत्रमा करिब ३२ अर्ब बराबरको लगानी रहेको नेपालमा ९ करोड जोडी जुत्ताचप्पल आन्तरिक बजारको माग हो । जसमध्ये करिब ६३ प्रतिशत जुत्ता चप्पलहरुको आपुर्ति आन्तरिक उत्पादनबाटै भएको छ । हाल यस क्षेत्रका उद्योगहरुमा करिब ५५ हजार मजदुरहरुले रोजगारी पाएका छन् भने एकतिहाई महिलाहरु प्रत्यक्ष रुपमा कार्यरत छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!