- संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा परीक्षा हुनु अगावै परीक्षा शाखाबाट प्रश्नपत्रको बण्डल गायब भएको बिषयलाई क्याम्पस प्रशासनले ढाकछोप प्रयास गरेको छ । गत फागुन २१ गते क्याम्पसको परीक्षा शाखाबाटा माइक्रो बायोलोजी तेश्रो वर्षको वार्षिक परीक्षाको प्रश्नपत्र गायब भएको थियो ।

फागुन २३ हुने परीक्षाको प्रश्नपत्र २ दिन अगावै गायब भएको हो । परीक्षा भईसकेपछि मात्र विभिन्न सञ्चारमाध्यममार्फत यो विषय सार्वजनिक भयो । फागुन २३ गते भएको ५० पुर्णाङ्को सो परीक्षामा ६० जना विद्यार्थी सहभागी थिए । सहभागीमध्ये क्याम्पस प्रशासन निकट अधिकांश विद्यार्थीहरुले प्रश्नपत्र चोरेरै सो बिषयको परीक्षा दिएको विद्यार्थी सङ्गठनको आरोप छ । परीक्षा अधिकृत हरि तिम्सिना, सहायक केन्द्राध्यक्ष सुशील अधिकारी र केन्द्राध्यक्ष एवं क्याम्पस प्रमुख बाबुराम तिम्सिनाको मिलेमतोमा प्रश्नपत्र गायब गरिएको संयुक्त विद्यार्थी सङ्गठनको आरोप छ । उनीहरुले उक्त गतिविधिमा संलग्नलाई कारबाहीको माग गर्दै आएका छन् ।

यता विद्यार्थी सङ्गठनले लगाएको आरोप निराधार रहेको क्याम्पस प्रमुख तिमल्सिनाको दावी छ । परीक्षा नियन्त्रक कार्यालयबाटै भुलवश फरक बिषयको प्रश्नपत्र प्राप्त भएकाले पुनः फिर्ता पठाईएको क्याम्पस प्रमुख तिमिल्सिना बताउँछन् ।

यसअघि पनि क्याम्पस प्रशासनले हात्तीसार क्याम्पस धरानका फुड एण्ड एग्रीकल्चर संकायका विद्यार्थीहरुको माघ २७ गते हुने परीक्षाको प्रश्नपत्र २६ गते नै बाँडेको थियो । परीक्षामा सहभागी ३५ जनामध्ये एकजना विद्यार्थीले फोटो खिचेर प्रश्नपत्र लिक गरेपछि भोलिपल्ट प्रश्नपत्र परिवर्तन गरिएको थियो । परीक्षा नियन्त्रण तथा सुपरिवेक्षणको जिम्मा पाएका सहायक केन्द्राध्यक्ष सुशील अधिकारीको लापरबाहीले प्रश्नपत्र लिक भएतापनि क्याम्पसले अहिलेसम्म उनमाथि कुनै कारबाही नगरेको विद्यार्थीहरुको गुनासो छ ।

पछिल्लो दुवै घटनाक्रमलाई क्याम्पस प्रशासनले दृष्टिदोष र परीक्षा नियन्त्रक कार्यालयको भुल बताइरहेको भएपनि विद्यार्थीहरु भने यो कुरा मान्न तयार छैनन । दुवै घटनाक्रम शंकास्पद देखिएको भन्दै विद्यार्थी संगठनहरुले यसविरुद्ध कानुनी बाटो रोज्ने चेतावनीसमेत दिएका छन् ।

 भिडियो रिपोर्ट…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!