विराटनगर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्योग, व्यवसायको विकासका लागि बैंकिङ क्षेत्रले सक्दो सहयोग गर्ने बताएका छन् । उद्योग संगठन मोरङको ४८ औं साधारणसभा उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
उद्योग, व्यवसायलाई अहिले पनि बैंकिङ क्षेत्रले सक्दो सहयोग गरिरहेको उनले बताए । ‘बैंकिङ सेक्टरले धेरै सघाइरहेको छ, उद्योग क्षेत्रले १३ अर्ब रुपैयाँ ब्याज छुट पाएको छ, यो योगदान उद्योगीले बिर्सनु हुँदैन,’ गभर्नर अधिकारीले भने, ‘पुनर्कर्जातर्फ झण्डै १ खर्ब गइसकेको छ, साउनयता ५७७ अर्ब कर्जा गएको छ, यसले उद्योग क्षेत्रको कारोबार बढाएको छ ।’ कोभिड–१९ को महामारीबाट प्रभावित उद्योग, व्यवसाय लगायत क्षेत्रलाई कर तिर्ने म्याद पर्याप्त थपिएको अधिकारीले बताए ।
कार्यक्रममा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोति दुगडले निजी क्षेत्रको काममा सरकारी संयन्त्रले ढिलासुस्ती गर्ने गरेको भन्दै आक्रोश पोखे । मुलुकलाई समृद्ध बनाउँने आधार निजी क्षेत्र नै भएको दावी गर्दै दुगडले निजी क्षेत्रलाई हेर्ने दृष्टि परिवर्तन गर्न आग्रह गरे । निजी क्षेत्रका समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओली चिन्तित रहेको भन्दै दुगडले आफू १३ महिनासम्म मन्त्री भएर बस्दा उद्योगी र कर्मचारी तन्त्रबीचको समस्याबारे निकै जानकारी पाएकाले प्रधानमन्त्रीमार्फत त्यसलाई समाधान गर्न लागिपरेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीलाई सरकारले पुनर्कर्जाको सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिए । कोरोनाका कारण होटल, पर्यटन र साना तथा मझौला उद्योगका क्षेत्रमा भने अझै पनि समस्या देखिएकोले सरकारले पुनर्कर्जाको सुविधा उपलब्ध गराउनुपर्ने उनको जोड छ । मुलुकको आर्थिक विकासमा १६ प्रतिशत योगदान रहेको मोरङको उद्योग व्यावसाय क्षेत्रले सोचे अनरुप गति लिन नसकेकोप्रति उनले चिन्ता व्यक्त गरे ।
साधारण सभामा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोर, नेपाल च्याम्बर्स अफ कमर्सका कार्यवाहक अध्यक्ष राजेन्द्र मल्ल, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, संगठनका पूर्वअध्यक्ष सुशील धनावत, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा लगायतले निजी क्षेत्रले फड्को मार्न सकेमात्र मुलुक समृद्ध हुँने भएकाले निजी क्षेत्रको विकासमा सहजिकरण गर्न सरकारलाई आग्रह गरेका छन् ।
२५ जनाले पाए सम्मान
साधारण सभाको अवसरमा उद्योग संगठनले विभिन्न क्षेत्र सम्बद्ध २५ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदार, पूर्वअध्यक्ष सुशील धनावत, मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवन सारडा र महेश जाजू छन् ।
त्यस्तै, स्वस्तिक आयलका विकास दुगड, विराट अस्पतालका सञ्चालक डा.ज्ञानेन्द्रमान सिंह कार्की, नेपाल विद्युत प्राधिकरण प्रदेश १ कार्यालय विराटनगरका पूर्वप्रमुख श्रीरामराज पाण्डे, आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख बिमल सापकोटा र विराटनगर भन्सारका प्रमुख शिवबहादुर भण्डारी पुरस्कृत भएका छन् । त्यसैगरी उद्योगीहरू विपीन काबरा, युवा उद्यमी पारस गोल्छा, महिला उद्यमी सन्तोष जैन, जिफण्टका प्रदेश १ अध्यक्ष किशोर धमला, ट्रेड युनियन कांग्रेसका नारायणबाबु कार्कीलाई पनि सम्मान गरिएको छ ।
नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, पत्रकार महेन्द्र बिष्ट, अनन्तराज न्यौपाने, मीनकुमार श्रेष्ठ, अर्जुन आचार्य, शंकर लुईंटेल र तारा आचार्यलाई सम्मान गरिएको छ । यता, उत्कृष्ट कर्मचारीको रुपमा उद्योग संगठनका प्रशासकीय अधिकृत विनोद भट्टराई सम्मानित भएका छन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी, प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार दुगड, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छा, संगठनका अध्यक्ष घिमिरे लगायतले उनीहरुलाई सम्मानसहित पुरस्कृत गरेका छन् ।