धनकुटा । सर्वोच्च अदालतले नेकपाको एकता बदर गरेर नेकपा एमाले र माओवादी केन्द्रलाई व्युँताएपछि धनकुटामा नेकपाको कार्यालयमा शुक्रबार नेकपा एमालेको बोर्ड राखिएको छ । एकतापछि नेकपाको जिल्ला पार्टी कार्यालयको रुपमा प्रयोग गरिदै आएको सिरवानीस्थित मदन आश्रीत प्रतिष्ठान भवनमा एमालेको बोर्ड राखिएको हो ।
बोर्ड फेर्न आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं एमालेका जिल्ला अध्यक्ष राजेन्द्र राई र अग्रज नेता गोपाल गुरागाईले पर्दा खोलेर एमालेको बोर्ड उद्घाटन गरेका छन् । नेकपा एकताअघि सो कार्यालय एमाले कै थियो । एकतापछि सोही कार्यालयलाई नेकपाको जिल्ला पार्टी कार्यालयको रुपमा परिणत गरियो । तर, नाम विवादमा सर्वोच्च अदालतले ऋषि कटेललाई नेकपाको आधिकारीकता दिएर केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको नेकपा एकता बदर गरी एमाले र माओवादी केन्द्र व्यूताएपछि सोही कार्यालयलाई एमालेको जिल्ला पार्टी कार्यालयको रुपमा प्रयोगमा ल्याइएको हो ।
यसैबीच शनिवार जिल्लाका सात वटै पालिकामा बोर्ड फेरेर एमालेको कार्यालय स्थापना गरिने एमाले धनकुटाका प्रचार बिभाग प्रमुख भेषराज कटेलले जानकारी दिए । नेकपा एकता बदरपछि अहिले देशभर नै एमाले र माओवादी केन्द्रले आ–आफ्नो बोर्ड राखेर पार्टी कार्यालय व्यूताउँने अभियान चलाइरहेका छन् ।