भक्तपुर।  निर्माण भएको एक महिना नबित्दै सूर्यविनायक नगरपालिका–७, गुण्डुस्थित बसपार्क जाने सडकको कुँवर गाउँको पर्खाल भत्किएको छ ।

क्रमागत योजनाअनुसार तीन वर्ष लगाएर करिब रु ३३ लाख खर्च गरेर निर्माण गरिएको सो पर्खाल गत सोमबार भत्किएको हो । सो पर्खाल भत्किएर बाटोसमेत बगाएपछि गुण्डु बसपार्क जाने सवारी आगमनमा समेत बाधा पुगेको छ ।

Advertisement

सो सडकमा गत वैशाखको अन्तिम साता मात्र कालोपत्र गरिएको थियो । पहिलो चरणको स्थानीय निर्वाचनको दुई दिनअघि पूर्वउद्योगमन्त्री महेश बस्नेत र हालका निर्वाचित वडाध्यक्ष एवम् तत्कालीन वडाध्यक्षका उम्मेदवार रवीन्द्र सापकोटाको रोहबरमा कालोपत्र गरिएको थियो ।

सूर्यविनायक नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रवीन्द्र सापकोटाले क्रमागत योजनाअन्तर्गत निर्माण गरिएको हुनाले पर्खाल हालै निर्माण भए पनि पर्खालको जगको निर्माण भने तीन वर्ष अगाडि नै भएको बताउनुभयो ।

वडाध्यक्ष सापकोटाका अनुसार माटो खुकुलो भएको र सो स्थानको उचाइसमेत बढी भएकाले पर्खाल भत्केको हो । “त्यही ठाउँमा पानीको मुहान पनि छ ।

सडकले बनाएको कालोपत्रमा पानी जाने ठाउँ नभएकाले सबै पानी त्यहीँबाट बगेका कारणले पर्खाल भत्केको हो”– सापकोटाले भन्नुभयो । सम्बन्धित निकायका सबैलाई बोलाएर निरीक्षण गराइसकेको जानकारी दिँदै सापकोटाले पर्खाललाई मजबुत बनाउन रक्षात्मक विधिबाट कार्य अगाडि बढाउने बताउनुभयो ।

डिभिजन सडक कार्यालयको भिआइपी सडकअन्तर्गत सो सडकमा कालोपत्र गर्दा लापर्बाही गरेका कारण पर्खाल भत्किएको काठमाडौँ उपत्यका विकास प्राधिकरण भक्तपुरका इ गणेश कोजुले बताउनुभयो ।

निर्माणाधीन पर्खालमाथि कालोपत्र गर्नेक्रममा रोलिङ गर्दा थर्किएर पर्खाल कमजोर भएर ढलेको उहाँले बताउनुभयो ।

सडकले कालोपत्र गर्ने क्रममा सडकको पानीको निकाससमेत सोही स्थानमा राखेका कारणले पनि पर्खाल भत्किएको इ कोजुको भनाइ छ ।

उहाँले भन्नुभयो, “कालोपत्र गर्दा पानी जाने पाइप जडान नगरेका कारणले पानी सबै फाटेको कालोपत्रबाट भित्र गई माटोलाई खुकुलो बनाएका कारण पर्खाल भत्केको हो ।” क्रमागत योजनाअन्तर्गत २०७३ फागुन २७ गते निर्माण शुरु भएको सो पर्खाल गत जेठ २६ गते मात्र सम्पन्न भएको हो ।

त्यसैगरी अर्का इन्जिनियर महेश शर्माले माथिदेखि आउने सबै पानीको निकाससमेत त्यही छोडिएकाले पनि पर्खाल भत्किएको बताउनुभयो । प्राधिकरणले लगाएको पर्खालमा नगरपालिकाले ओभरल्याप हुनेगरी थप तीन फिट पर्खाल थपेका कारण पनि थेग्न नसकी पर्खाल भत्केको उहाँले जानकारी दिनुभयो ।

करिब ३० मिटर अग्लो भिरालो स्थानमा बेन्ची आकारमा पर्खाल निर्माण गरिनुपर्नेमा सिधा उठाएका कारण पर्खाल ढल्न पुगेको स्थानीय दीपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

पछिल्लो समय पर्खाल निर्माणको कार्य माधव विष्टको अध्यक्षतामा रहेको रातोपाटी युवा समाज उपभोक्ता समितिले गरेको हो भने यसअघि सो पर्खाल सुमन थापा अध्यक्ष भएको गुण्डु युवा समाज उपभोक्ता समितिले गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!