
नौ महिना गर्भमा राखी
कयौं दु:ख र पीडा
सहझै स्विकार्ने
ती मेरी आमा हुन् नारी
रजस्वलाको कयौं
कष्टलाई हर्षमा
बदल्ने जिउदो
भगवान हुन् नारी।
प्रत्येक पल्ट आमा बन्दा
आफ्नो जीवनलाई
मृत्युको मुखमा पुर्याउने
महान योद्धा हुन् नारी
आफू भोक र तिर्खा सहेर
नखाई नखाई
अरुलाई खुवाउने
मेरी आमा हुन् नारी।
पुरुषप्रधान देशको
हरेक यातना सहने
शाहसी व्यक्ति हुन् नारी
घर धन्दादेखि
मेलापातसम्म
कोक्राको बच्चादेखि
बिछ्याउनाकाबृद्ध
बा, आमासम्म
हेर्न सक्ने भगवान हुन् नारी।
भान्साको चुलोदेखि
गाई गोठको भकारोसम्म
पँधेरीको पानीदेखि
जुठेल्नुको भाडासम्म
पारी वनको घाँस दाउरादेखि
अध्यारो रातमा ढिकी जाँतोसम्म
सबै-सबैतिर पुग्न सक्ने
जिउदो भगवान हुन् नारी।
बुढेसकाल हुँदै गएपछि
बृद्धाश्रमसम्म पुग्ने
त्यति मात्र नभएर
बोक्सीको आरोपमा
निर्घात दण्ड सहने
साँच्चिकै जिउदो भगवान हुन् नारी !
सबै-सबै नारीहरुमा नारी दिवसको
लाखौं लाख शुभकामना!
अरबौ अरब शुभकामना!