
काठमाडौं । काभ्रेको पनौतीमा बुधबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ८ सय भन्दा बढी बिरामी लाभान्वित भएका छन् । पनौती–६ स्थित ज्योती मिर्मिरे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको आठौं एकीकरण दिवसको अवसरमा काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी शिविर आयोजना गरिएको हो ।
शिविरमा ८५३ जना बिरामीको निःशुल्क उपचार गरिएको काठमाडौं मेडिकल कलेजका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा २६३ जनाको भिडियो एक्सरे, १०९ जनाको ल्याब टेस्ट र १०५ जनाको इसीजी गरिएको छ ।
काठमाडौं मेडिकल कलेजले यसअघि मंगलबार काठमाडौंको मनोहरामा पनि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो ।गरिव तथा विपन्न बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइएको काठमाडौं मेडिकल कलेजका अध्यक्ष डा. सुनिल शर्माले जानकारी दिए ।















