धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाका २२४ जनाले दाँत उपहार पाएका छन् । प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रममा ९६ जनाले सेट दाँत लगाएका हुन् । त्यस्तै, १ सय २८ जनालाई ६ सय ७३ वटा खुद्रा दाँत लगाइएको गाउँपालिकाले जनाएको छ ।
पूर्वाअञ्चल डेन्टल हस्पिटल इटहरीको प्राविधिक सहयोगमा प्रदेश १ को सामाजिक विकास मन्त्रालय र हेल्पिङ्ग युथ इटहरीसँग सहकार्य गरेर सहिदभूमि गाउँपालिकाले आँखिसल्ला स्वास्थ्य चौकीमा दन्त उपहार कार्यक्रम गरेको हो । कार्यक्रममा पूर्वाअञ्चल डेन्टल हस्पिटल र गाउँपालिकाको स्वास्थ्य शाखाका दन्त चिकित्सकहरुले सेवा दिएका थिए ।
गत सोमबारदेखि वुधबारसम्म प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम गरेर गाउँपालिकाबासीलाई उपहारस्वरुप दाँत लगाइएको गाउँपालिका प्रमुख मनोज राइले बताए । कार्यक्रममा २ सय ४२ जनाको दाँत फुकालिएको छ । दाँत लगाउँने र फुकाल्ने गरी ३ सय ९३ जनालाई सेवा प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिए ।