- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतवार प्रदेश सभामा अविश्वास प्रस्ताव पेश भएको छ । प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशनको तेस्रो बैठकमा नेकपाको प्रचण्ड–माधव समूहका सांसद् इन्द्रबहादुर आङ्वोले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश गरेका हुन् ।

Advertisement

दिउँसो २ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको थियो । नेकपाको प्रचण्ड–माधव पक्ष र ओली पक्षिय सांसद्को रस्साकस्सीका कारण निर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलो बैठक सुरु भयो । ओली पक्ष बैठक स्थगित गराउँने रणनीतिमा थियो भने प्रचण्ड–माधव पक्ष अविश्वास प्रस्ताव टेवुल गर्ने योजनामा अघि बढेको थियो । बिहान मुख्यमन्त्री शेरधन राईले अहिलेको अवस्थामा अविश्वासको प्रस्तावमा छलफल अघि बढाउन नमिल्ने भन्दै सूचना टाँस गरी बैठक स्थगित गर्न सभामुख प्रदीपकुमार भण्डारीलाई दवाव दिएको भएपनि भण्डारीले बैठक रोक्दा राम्रो सन्देश नजाने भन्दै बैठक स्थगित गर्न अस्वीकार गरे ।

अपरान्ह ४ बजे सुरु भएको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले अविश्वासको प्रस्ताव प्रस्तुत गर्न सांसद् आङ्वोलाई अनुमति दिए । संघीय संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिएकाले मुख्यमन्त्रीको पक्षमा सहमत हुँन नसकिएको भन्दै आङ्वोले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश गरे । ‘प्रधानमन्त्रीले असंबैधानिक रुपमा संसद् विघटन गर्नुलाई मुख्यमन्त्री ज्यूले अग्रगमन र वाध्यात्मक कदमको रुपमा अथ्र्याउँनु भएको छ । हामीले यसलाई गंभीर कमजोरी र प्रतिगामी कदम भनेका छौ,’ आङ्वोले भने ‘हाम्रो यही बिषयमा मतान्तर भयो । प्रधानमन्त्रीको कमदलाई समर्थन गर्ने मुख्यमन्त्रीलाई स्वीकार गर्न सकेनौं र अविश्वासको प्रस्ताव पेश गरेका छौ ।’

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेपछि ओली पक्षिय मुख्यमन्त्री राईविरुद्ध नेकपाकै प्रचण्ड–माधव समुहका सासंदहरुले पुष १२ गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सांसद् आङ्बो प्रस्तावक र लक्ष्मण तिवारी समर्थक रहेको सो प्रस्तावमा ३७ सांसद्ले हस्ताक्षर गरेका थिए । तर, यसबीचमा सांसद् जसमायाँ गजमेर, गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, बसन्तीदेवी यादव र कला घलेले अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएका छन् । ९३ सांसद् रहेको प्रदेश सभामा नेकपाका ६७ सांसद् छन् । दुवै पक्ष अहिले सांसद् आफ्नो पक्षमा तान्ने जोडबलमा छन् ।

यसैबीच, आइतवारको बैठकमा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव टेबल हुने कार्यसुची तय भएपछि ओली पक्षिय सांसद्हरुले बैठक बहिष्कार गरेका छन् । आफ्नै पार्टी नेतृत्वको सरकारका मुख्यमन्त्रीविरुद्ध चलखेल गरेको भन्दै मुख्यमन्त्री राईले यसअघि १६ सांसद्लाई निलम्बन गरेका थिए । निलम्बन गरिएका सांसद् उपस्थित भएसम्म बैठक बहिष्कार गर्ने ओली समूहको अडान छ ।

यता, प्रतिपक्षी दल नेपाली काँग्रेसले भने ओली पक्षिय सांसद्ले बैठक बहिस्कार गर्नुको अर्थ नहुँने भन्दै बैठक चल्नु र अविश्वास प्रस्ताव पेश हुँनलाई सकारात्मक भनेको छ । बैठकपछि नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले ससद्मा आएर नियमापत्ति गरेको भए केही अर्थ हुँने भएपनि बैठक बहिस्कार गरेर अनुपस्थित हुँनुले अर्थ नराख्ने टिप्पणी गरे । प्रदेशसभा हिउँदे अधिवेशनको अर्को बैठक फागुन २० गते बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ । नेपाली काँग्रेससहित अन्य दलसँग सहकार्य गरेर भएपनि अविश्वास प्रस्ताव पारित गरेरै छाड्ने प्रचण्ड–माधव पक्षको राणनीति छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!