- रासस

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो । यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै आएको थियो । प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो ।

Advertisement

सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म भागरथीको हत्या मात्रै गरेको बताएका थिए तर शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको थियो । त्यसपछि पनि भागरथीका घरपरिवारले भने बलात्कार गर्ने व्यक्तिको पनि खोजी गर्नुपर्ने भन्दै बिहीबारसम्म शव बुझ्न मानेको थिएन । बिहीबार दिनेशका बुवा, अनुसन्धान अधिकृत र सरकारी वकिल सामु गर्न लगाएको बयानमा दिनेशले आफूले नै बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए । बलात्कार र हत्या आफैँले गरेको दिनेशले स्वीकार गरिसकेपछि भागरथीका घरपरिवारले शव बुझ्न मानेको हो ।

जिल्ला अस्पतालमा रहेको शवलाई बिहान १० बजे बुझ्ने जानकारी आएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । गोठलापानीबाट बिहान ११ बजे शवयात्रा शुरु हुने भागरथीका काका शिवराज भट्टले बताए । गोठलापानीबाट सेरासम्म शवयात्रा हुने र सेरास्थित महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिने भएको हो । गत माघ २१ गते विद्यालयबाट घर जान हिडेँकी भागरथीको साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!