- गोमा ढुंगाना/संगालोखबर

धनकुटा । सिंहदेवी युथ क्लव सिधुवाले धनकुटाको जितपुरमा सञ्चालित दोस्रो महालक्ष्मी मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा आयोजक जितपुर ‘ए’ लाई ट्राइबेकरमार्फत ३–१ गोल अन्तरले पराजित गर्दै सिंहदेवीले उपाधिमाथि कब्जा जमाएको हो ।

Advertisement

खेलको सुरुवाती चरणमा जितपुरका टिम क्याप्टेन मनिस गुरुङले कर्नरबाट आएको बललाई हेडमार्फत गोल गर्दै टिमको खाता खोलेका थिए । पहिलो हाममा जितपुरले अग्रता लिएको भएपनि दोस्रो हापमा सिधुवाका नरेन विकले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा सिधुवाका सन्तु लिम्बु, विरेन चेम्जोङ र नरेन विकले समान एक/एक गोल गरे भने रुपेश याखाले मात्र गोल गर्दा जितपुर उप–विजेतामा सिमित भएको प्रतियोगिताका उद्घोषक बिनोद ढकालले जानकारी दिए ।

उपाधिसँगै सिंहदेवीले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उप–बिजेता जितपुरले ५० हजारमा चित्त बुझाएको छ । यसैबीच सिधुवाका गोलकर्ता नरेन विक फाइनलको उत्कृष्ट खेलाडी घोषित भए । यता, जितपुरका मनिस गुरुङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सिधुवाका विजय गुरुङ उत्कृष्ट गोलरक्षक र लालिगुराँसका रोम खड्का सर्वाधिक गोलकर्ता बन्दै पुरस्कृत भए । बिजेता टिम तथा खेलाडीहरुलाई प्रदेश सांसद इन्द्रमणी पराजुली, महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल, उपमेयर मञ्जु अधिकारी लगायतले पुरस्कार प्रदान गरेका छन् ।

बसन्त पञ्चमीको अवसर पारेर महालक्ष्मी नगरपालिकाको आर्थिक सहयोगमा नगर खेलकुद विकास समिति महालक्ष्मीले प्रतियोगिता सञ्चालन गरेको हो । पाँच दिनसम्म सञ्चालित प्रतियोगिताको उपाधिका लागि धनकुटा, भोजपुर, तेह्रथुम र झापाका १६ टिमबीच प्रतिस्पर्धा भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!