धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य हेमराज भण्डारीले आफ्नो निर्णय नसच्याए धनकुटाका जनप्रतिनिधि जनताबिहिन बन्ने चेतावनी दिएका छन् । प्रतिनिधि सभा बिघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव समूहले शनिवार धनकुटामा गरेको विरोध सभालाई संवोधन गर्दै नेता भण्डारीले यस्तो बताएका हुन् ।
धनकुटाबाट प्रतिनिधित्व गर्ने निवर्तमान संघीय सांसद राजेन्द्र राई, जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान तथा जिल्लाका सात वटै पालिकाका प्रमुख र उप–प्रमुखले यसअघि बिज्ञप्ति जारी गरेर ओली पक्षलाई साथ दिने घोषणा गरेका थिए । नेकपाका धनकुटा इन्चार्जसमेत रहेका भण्डारीले जनता चाहिए निर्णय सच्याएर ओलीको साथ छोड्न जनप्रतिनिधिहरुलाई सुझाव दिएका हुन् । ओलीको साथ नछोडे जनप्रतिनिधि एकातिर र जनता अर्कोतिर हुँने नेता भण्डारीले बताए ।
धनकुटा प्रतिगामीको मतियार बन्न नसक्ने भन्दै नेता भण्डारीले ओलीको साथ नछोडे केही दिनभित्रै धनकुटाका जनप्रतिनिधि जनताबिहिन बन्ने दावी गरे । ‘धनकुटाका जनप्रतिनिधिहरुले ओली पक्षलाई साथ दिने भनेर बिज्ञप्ति जारी गर्नुभएछ ।’ नेता भण्डारीले भने–‘लेखेर राख्नुहोस्, उहाँहरु केही दिनभित्रै जनताबिहिन बन्नुहुन्छ ।’
नेता भण्डारीले केपी ओली समूहमा खुलेर नेकपा जिल्ला अध्यक्ष राजेन्द्र राईले धनकुटेली जनतामाथि विश्वासघात र गद्धारी गरेको आरोप पनि लगाए । ‘धनकुटाका ३७ हजार जनताले पाँच बर्षका लागि भनेर राजेन्द्र राईलाई जिताएर पठाएका हुन् ।’ प्रश्न गर्दै नेता भण्डारीले भने–‘तीन बर्षमा ओलीले संसद् विघटन गर्दा तपाई कुन मुखले ओलीले ठिक गरे भन्दै हिड्नु भएको छ ? तपाईलाई धनकुटेली जनताले माफ गर्दैनन् ।’
धनकुटामा ऐतिहासिक सभा: सचिव ढुंगाना
नेकपा धनकुटाका सचिव एवं संघर्ष समिति संयोजक ऋषिराम ढुंगानाको अध्यक्षतामा विरोध सभा भएको हो । सभामा करिब ६ हजार नेता कार्यकर्ता सहभागि भएको ढुंगानाले बताए । उनले धनकुटामा ऐतिहासिक ठूलो सभा भएको दावीसमेत गरे । विरोध सभा अघि धनकुटा बजारमा मोटरसाइकल र्याली र जुलुश प्रदर्शन गरिएको थियो । गाउँ–गाउँबाट आएका नेता कार्यकर्ता जुलुश र विरोध सभामा सहभागि थिए ।