धनकुटा । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराइले सबै मिलेर आन्दोलन गरेमा एक हप्ताभित्र प्रधानमन्त्री केपी शर्मा ओलीले घुँडा टेक्ने दावी गरेका छन् । संसद् विघटनको विरोधमा जनता समाजवादी पार्टीले आज धनकुटामा गरेको विरोध सभालाई संवोधन गर्दै भट्टराइले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओली तानाशाही प्रवृतिले अघि बढेको भन्दै भट्टराइले उनलाई घुँडा टेकाउँन सबै एकजुट हुनुपर्ने आवश्यकता औल्याए । सबै दल, नगरिक समाज लगायत मिलेर आन्दोलन गरेमा संसद् पुर्नस्थापना हुँने उनको तर्क छ । १९ दिने जनआन्दोलनले राजसंस्था फालेको स्मरण गर्दै नेता भट्टराइले सवै मिलेर आन्दोलन गरेमा एक हप्ताभित्र प्रधानमन्त्री ओली पछि हट्ने दावी गरेका हुन् ।
फरक प्रशंगमा उनले सर्वोच्च अदालतले संसद् पुर्नस्थापना नगरेमा पनि संसद् सूचारु हुँने बताएका छन् । प्रधानमन्त्री ओलीले सर्वोच्चलाई दवावमा पारिरहेको भन्दै भट्टराइले सर्वोच्चले संसद् पुर्नस्थापनाको फैसला नगरेमा पनि संसद् विघटनको निर्णय खारेज हुँने जिकिर गरेका हुन् । सभामुखको पद जिवितै रहेकाले सभामुखले संसद् बैठक वोलाउँने र बैठकले संसद् विघटनको निर्णय खारेज गर्न सक्ने भट्टराइको तर्क छ ।