काठमाडौं । काठमाडौंमा बर्डफ्लु रोग देखिएको छ । काठमाडौंको तार्केश्वर नगरपालिका–७ साङलेखोला फुटुङमा हाँस र टर्कीमा बर्डफ्लु भेटिएको हो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा टर्की र हाँसको नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।
बर्डफ्लु पुष्टि भएपछि विभागले १ हजार ८६५ हाँस, ६ सय २२ बटाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अन्डा र ७५ केजी दाना नष्ट गरेको छ । करिब एक महिना अघिदेखि भारतका विभिन्न राज्यमा बर्डफ्लु देखिएपछि नेपालमा पनि सतर्कता अपनाइएको थियो । तर, नेपालमै देखापरेपछि विभागले थप कडाई गर्ने भएको छ । भारतबाट रोग सार्न सक्ने वस्तुको आयातमा प्रतिबन्ध लगाइएको छ । पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेनरी प्रमाणपत्र लिएर मात्र गर्न गराउन विभागले भनेको छ ।
विभागले विज्ञप्ति जारी गर्दैै फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्बन गराउन, पन्छीपालक कृषकहरूले फार्म परिसरमा नियमित रूपमा निःसंक्रमण गर्न र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ । कुनै पनि पन्छी फार्म वा अन्य पन्छीपालन वा बिक्री स्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना दिन विभागले भनेको छ ।
बर्डफ्लु भएको पन्छीको मासु खाँदा सर्ने सम्भावना रहने हुँनाले मासु खाँदा राम्रोसँग पकाएर मात्रै खान बिभागले आग्रह गरेको छ । चिकित्सकका अनुसार मासु खान मिले पनि बर्डफ्लुको भाइरस ७२ डिग्री सेल्सियसमा मर्ने भएकाले १०० डिग्रीसम्म पकाएर खान सकिनेछ ।