विराटनगर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद् पुर्नस्थानाको फैसला नगरेमा संसद् बैठक राखेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । संसद् विघटनको विरोधमा नेकपा प्रदेश १ कमिटीले शुक्रबार विराटनगरमा गरेको प्रदेश स्तरीय विरोध सभालाई संवोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
सर्वोच्चले संविधान, लोकतन्त्र र जनताको मर्म र भावना अनुसार फैसला गर्छ भन्ने भरोसा गरेर बसेको भन्दै अध्यक्ष दाहालले जरुरी परेमा संसद् बैठक बसेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने चेतावनी दिए । ‘अहिले हामी सर्वोच्चले संविधान, लोकतन्त्र र जनताको मर्म र भावना अनुसार गर्छ भनेर भरोसा गरेर बसेका छौं ।’ अध्यक्ष दाहालले भने–‘म अहिले विराटनगरबाट भन्दैछु, देशैले सुनेहुन्छ, जरुरी पर्यो भने संसद्को बैठक बस्छौं र यस्ता अपराधीलाई कारबाही गछौ ।’
तर, सर्वोच्चले सही फैसला गर्छ भन्ने विश्वास रहेको भन्दै अध्यक्ष दाहालले त्यसो नभएमा संसद् बैठक राख्ने विकल्प रोजिने बताए । संविधानले संसदको बैठक बस्ने अधिकार दिएको भन्दै अध्यक्ष दाहालले सर्वोच्चको फैसला चित्त बुझ्दो नआएमा सभामुखले संसद् बैठक बोलाउँने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीलाई संसद् विघटन गर्ने अधिकार संविधानले नदिएको दावी गर्दै उनले ओलीले विघटन गर्दैैमा संसद् विघटन नहुँने जिकिर गरे ।