- सन्तोष रुचाल/संगालोखबर

धनकुटा । पैसा कमाएर परिवारलाई शुख दिने आसमा विदेशिएका धनकुटाको चौबिसे गाउँपालिका–३ सोगुमका भीमबहादुर मगरको शव बाकसमा प्याक भएर घर आएको छ । बैदेशिक रोजगारको सिलसिलामा मलेसियामा मृत्यू भएका ४३ वर्षीय मगरको शव डेढ महिना पछि घर ल्याइएको हो ।

Advertisement

शनिवार राती घर आईपुगेको शवलाई आइतवार अन्त्येष्टि गरिएको छ । ११ वर्ष अघि बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका मगरको डेढ महिना अघि मृत्यू भएको थियो । भिसाको म्याद सकिएपछि करिब ४ वर्षदेखि गैरकानुनी रुपमा मलेसियामा काम गर्दै आएका मगर तीन महिना बिरामी परेका थिए । बिरामी परेर घर फर्कने तयारी गर्दै गर्दा गत मंसिर २७ गते उनको मृत्यू भएको हो । भीमबहादुरको मृत्यूले परिवार शोकमा डुबेको छ ।

कमजोर आर्थिक अवस्थाका मगर यस अघि पनि बैदेशिक रोजगारकै सिलसिलामा दुबई गएका थिए । तर, त्यहाँ भनेजस्तो तलब नपाएपछि २ वर्षमा घर फर्किए । धेरै पैसा कमाएर छोराछोरी र श्रीमतिलाई सुखसयलमा पाल्ने सपना बोकेर पुनः २०६६ साल मंसिरमा मलेसिया गएका मगर अन्ततः बाकसमा प्याक भएर आए । छोराछोरीको लाउला खाउला भन्ने उमेरमा श्रीमान्को मृत्यू भएपछि परिवारको बिचल्ली भएको मृतककी श्रीमति डिकमायाले गुनासो गरिन् ।

मृतकको जेठी छोरीको विवाह भइसकेको छ भने माइली छोरी र छोरा कक्षा–१२, साईली छोरी कक्षा–११ र कान्छी छोरी कक्षा–६ मा पढ्दै छन् । अब नानीहरुको पठन पाठनमा पनि समस्या भएको डिकमायाले बताईन् । मगरको मृत्यू भएपछि चौबिसे गाउँपालिकाको आप्रवासी सूचना कक्ष र सीएमआईआर नामक संस्थाको पहलमा उनको शव नेपाल ल्याइएको सूचना कक्षका सूचना सहायक सुरेन्द्र लिम्बूले बताए । मगरको शव नेपाल ल्याउन प्रवासमा रहेका नेपाली दाजुभाई र मृतकका परिवारले गाउँमा चन्दा संकलन गरेका थिए । संकलित रकमबाट शव नेपाल ल्याइएको भएपनि काठमाडौंबाट घरसम्म शव ल्याउन भने बैदेशिक रोजगार बोर्डले निःशुल्क शवबाहन उपलब्ध गराएको थियो ।

भिसाको म्याद सकिएर गैरकानुनी रुपमा काम गर्दै आएका कारण मगरलाई नेपाल सरकारको तर्फबाट सहयोग भएन । तर पनि उनले काम गर्दै आएको कम्पनीबाट क्षतिपूर्ति उपलब्ध गराउन पहल भईरहेको चौविसे गाउँपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!