काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म पार्टीले आन्दोलन जारी राख्ने बताएका छन् ।
कांग्रेसले कञ्चनपुरको महेन्द्रनगरमा गरेको कार्यक्रममा बोल्दै कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक भएकोले कांग्रेस आन्दोलनमा रहेको बताए ।
प्रधानमन्त्री ओलीले अराजनीतिक र असंवैधानिक काम गरेकाले प्रतिनिधि सभा पुनर्स्थापनाको कुनै विकल्प नरहेको र प्रधानमन्त्रीले घोषणा गरेको समयमा चुनाव नहुने उनको भनाई छ ।
ओलीको कदम असंवैधानिक रहेको विषयमा पार्टी एकमत रहेको र कांग्रेसभित्र अहिले कुनै विवाद नरहेको पनि कोइरालाले बताए । उनका अनुसार प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म पार्टी निरन्तर आन्दोलनमा रहने र प्रधानमन्त्री ओलीको कदम सच्याएर मात्रै कांग्रेसले सडक छाड्नेछ ।