- संगालोखबर सम्बाददाता

इलाम । चियाबारी भन्ने बित्तिकै कन्याम र श्री अन्तुको नामले परिचित पूर्वको पर्यटकीय गन्तव्य ईलाम पछिल्लो समय पानीटारको नामले पनि चिनिन थालेको छ । पर्यटन सम्बद्ध निकायको उचित प्रर्वद्धनको अभावमा लामो समयसम्म ओझेलमा परेको पानीटार हाल पूर्वकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास भएको हो । कतै अग्लो त कतै होचो तर मिलेको चियाबारी, अन्तु बिर्साउने चिसो हावापानी र पर्यटक तान्ने वनभोजस्थल यहाँको मुख्य आकर्षण हो ।

Advertisement

इलामको देउमाई नगरपालिका–३ स्थित पानीटारमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहलसँगै चलचित्र र म्यूजिक भिडियो छायाङ्कन गर्ने क्रम पनि सुरु भएको छ । इलाम सदरमुकामबाट करिब ३० किलोमिटरको दुरीमा रहेको पानीटार पुग्न बिब्ल्याँटे बजार, नेपालटार हुँदै गाग्रेभञ्ज्याङ पुगेर केही तल झर्नुपर्छ । सदरमुकामबाट गाग्रेभञ्ज्याङसम्म पक्की र गाग्रेभञ्ज्याङदेखि केही ओरोलो कच्ची बाटो हिँडेपछि पानीटार पुगिन्छ । यसका साथै झापाको बिर्तामोड–शनिश्चरेदेखि मङ्गलबारेको बाटो हुँदै पनि पानीटारसम्म पुग्न सकिन्छ । सदरमुकामको बाटोभन्दा झापाबाट आउन छोटो पर्ने भएकाले पछिल्लो समय बढी पर्यटकले यही बाटो प्रयोग गर्ने गरेका छन् ।

सञ्चारमाध्यमकै प्रचारका कारण पानीटारले पछिल्लो समय पर्यटकीय गन्तव्यको पहिचान पाएको स्थानीय पर्यटन व्यावसायी पासाङ शेर्पा बताउँछन् । ‘कुनै निकायले यसको प्रचारका लागि चासो देखाएनन् । मिडियाको प्रचारले नै अहिले पानीटार पर्यटकीय क्षेत्र बन्दैछ’, शेर्पा भन्छन्, ‘आउँदो साल गाग्रेभञ्ज्याङबाट आउने कच्ची सडक पक्की भएपछि आवागमनका लागि झनै सहज हुन्छ ।’

यस्तै युट्युबमा सर्वाधिक रुचाइएको म्युजिक भिडियो ‘तीनपाते’ र प्रियङ्का कार्की तथा आयुष्मान देशराज जोशी अभिनित चलचित्र ‘प्रेम दिवस’ पनि पानीटारमा छायाङ्कन भएको छ । प्राकृतिक छायाङ्कनस्थलका रूपमा विकास हुँदै आएको यसक्षेत्रको आकर्षक चियाबारी र शान्त क्षेत्रकै कारण यहाँ सुटिङ गर्न आउनेहरुको संख्या बढी रहेको चलचित्र निर्देशक केवल तामाङले बताए । प्राकृतिक क्षेत्रको प्रचार अनि दर्शकको आँखा अड्याउने ‘भर्जिन ल्याण्ड’ यहाँको मुख्य बिशेषता रहेको उनको भनाई छ । ‘हामीले चलचित्रका माध्यमबाट पानीटारको प्रचार गर्न सक्छौँ, त्यसका लागि हामीलाई पनि नयाँ–नयाँ ‘डेस्टिनेशन’ चाहिन्छ’, तामाङ भन्छन्, ‘यी सबै पक्ष पानीटारमा छ ।’

पानीटारमा व्यवस्थित खानपान र यथोचित बसोबासको अभाव भएपनि पछिल्लो समय आन्तरिक पर्यटकहरुको चहलपहलमा वृद्धि भएसँगै नयाँ होमस्टे, होटल तथा कटेजहरु थपिने क्रम बढेको छ । पर्यटक बढ्दै जाँदा स्थानीयबासीले घर–घरमा होटल तथा होमस्टे सञ्चालन गर्न थालेको पर्यटन व्यावसायी धरणी कोईरालाले बताए । उनका अनुसार अहिलेसम्म पानीटारमा व्यवस्थित होटल छैन । बस्ने व्यवस्था नभएकाले पनि लामो समय पर्यटकहरु पानीटारमा रहन रुचाउँदैनन् ।

अहिले पानीटारमा बिशेषगरि शुक्रबार र शनिबार करिब २ सयको हाराहारीमा आन्तरिक पर्यटकहरु आउने गरेका छन् । बिशेषतः घुमफिर र हिउँदमा वनभोजका लागि आउनेको संख्या बढी रहेको स्थानीयको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!