संगालोखबर सम्वाददाता

विराटनगर । भारतीय टेलिभिजन च्यानल जी न्यूजले नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतले दावी गर्नुपर्ने भन्दै रिपोर्ट प्रशारण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको अन्तरवार्ता प्रशारण गरेर केही दिनयता नेपालमा चर्चा कमाइरहेको जी न्यूजले त्यस लगत्तै सगरमाथामा भारतीय दावी प्रस्तुत गर्नुपर्ने भन्दै विवादित सामाग्री प्रशारण गरेको हो ।

Advertisement

प्रधानमन्त्री ओलीको अन्तरवार्ता लिन वालुवाटार आएको जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीसहितको टोलीले सगरमाथा क्षेत्र पुगेर विवादित समाग्री तयार गरेको हो । रिपोर्टमा प्रधानसम्पादक चौधरीले सगरमाथामा भारतले दाबी गर्न र सगरमाथाको नाम फेर्ने अभियान चाल्न उक्साएका छन् ।

उनले राधानाथ सिकदरले पहिलोपटक सगरमाथाको उचाइ नापेका कारण सगरमाथाको नाम पनि उनैको नामबाट ‘राधानाथ सिकदर’ राख्नुपर्ने बताएका छन् । रिपोर्टमा उनले भनेका छन्–‘अब भारतले माउन्ट एभरेष्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।’

यसअघि जी न्यूजले प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीचको कपोलकल्पित सम्वादसहितको रिपोर्ट प्रशारण गरेको थियो । जसका कारण नेपालका केवलहरुमा जी न्यूजसहितका केही भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द गरियो ।

त्यसपछि जी न्यूजका प्रधानसम्पादक चौधरीले नेपाललाई होच्याउँदै ट्वीट गरेका थिए । उनले लेखेका थिए, ‘नेपालले भारतीय न्यूज च्यानलको प्रसारण बन्द गरेको छ । यो देश त भारतका न्यूज च्यानलका एंकरसँगै डरायो त । सेना त अघि सर्नै परेन ।’ नेपाली राष्ट्रियतामाथि पटक–पटक प्रहार गर्दै आएको जी न्यूजले पुनः विवादित समाग्री प्रशारण गरेपछि नेपालमा यसको विरोध भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!