- ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

बि.सं.२०७७ साल पुष २७ गते सोमबार ई. सं. २०२१ जनवरी ११ नेपाल सम्बत ११४१ थिंलाथ्व त्रयोदशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पुष कृष्ण त्रयोदशी, चन्द्रमा वृश्चिक राशिमा ९ः२६ त्यसपछि धनु, ज्येष्ठा नक्षत्र ९ः.२७ सम्म त्यसपछि मूल नक्षत्र, वृद्धि योग ८ः ५५ सम्म त्यसपछि व्यागात योग, वणिज करण २ः५३ सम्म त्यसपछि शकुनी करण । नेपालमा सूर्योदय बिहान ०६ः५६ बजे, सूर्यास्त साँझ ५ः२८ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज राष्ट्रिय एकता दिवश परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५४ मिनेट देखि ८ बजेर १५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन मिश्रित फलदायी रहेको छ । उदयकालमा आयुक्षेत्रमा चन्द्रमा छ, तर राशिमा शुभ ग्रहको प्रभाव रहेकाले कर्मप्रति निष्ठा राखी अघि बढ्दा अन्त्यमा सफलता नै आर्जन हुनसक्ने दिन छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । दिन छिप्पिंदै जाँदा भाग्यबल बढ्दै जाने समय छ । साँझमा परिवारमा रमाइलो जमघट हुनेछ । हाँके/ताकेका काममा सफलता मिल्दै जानेछ । उतारचढाव आएपनि व्यापारबाट राम्रै नाफा मिल्नेछ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सुरुमा सातौं भावमा चन्द्रमा रहेकाले मन भावुक बन्न सक्छ । एकाबिहानै के गर्ने के नगर्ने भन्ने विषयमा दोधार देखिने छ । यद्यपि घरपरिवारबाट सहयोग प्राप्त हुने नैै छ । साथीभाइले साथ दिनेछन। व्यापार÷व्यवसायमा ठिकै छ, तर दिन ढल्दै जाँदा खिन्नता र चिडचिडेपना अझ बढ्ने छ । अपराह्नपछि आठौं घरमा चन्द्रमा रहेकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ । पारिवारिक जीवनमा समेत सन्तुष्टि हुँदैन । व्यक्तिगत स्वास्थ्यमा पनि समस्या देखिन सक्छन। घरायसी समस्या र कामधन्दामा केन्द्रित हुनुपर्छ । दिन अनुकूल नभए पनि वैदेशिक क्षेत्रबाट लाभ मिल्नसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दिउँसोसम्म छैंठौं सकारात्मक चन्द्रमा रहेकाले मावली वा आमाको आशीर्वाद प्राप्त हुनेछ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन। लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन। पारिवारिक खुसीका लागि खर्च बढ्ने छ । पतिपत्नी र प्रेमीप्रेमिकाका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । कुनै खुसीको खबर प्राप्त हुने सम्भावना पनि छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
बिहानको समय राम्रो छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । बन्दव्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । छैंठौं भावमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ वा कुनै झैझगडा, किचलो र विवादमा मेलमिलापका लागि अहम भूमिका निर्वाह गर्नु पर्नेछ । अपराह्नपछि अशान्ति र अराजकताका समाचार पनि आउन सक्छन। निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन। क्रोध र रिस रागमा नियन्त्रण राख्नु बुद्धिमानी हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजबाट पारिवारिक वातावरणमा सुधार आउने छ । घरपरिवारमा खुसीको वातावरण छाउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । इष्टमित्र र नातेदारका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुकीपख दार्शनिक र आध्यात्मिक विषयवस्तुको आकर्षण बढ्ने देखिन्छ । ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । पैसाको मामिलामा खासै फरक पर्ने देखिन्न ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । यात्राको सम्भावना छ । बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका चौथो घरमा चन्द्रमा जाने भएकाले घरायसी समस्याहरू देखापर्न सक्छन। पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ, तर डराउनु पर्दैन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, त)–
मेवामिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन। प्रशस्त धन आर्जन गर्ने अवसर पाइने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । व्यवहारिक कठिनाइको सामना भए पनि घरपरिवारका समस्या हल गर्ने वातावरण प्राप्त हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आजबाट पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन। पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछा। स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । कुनै भौतिक सामान खरिद गर्नका बेलुकीपख राम्रो छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । अपराह्नपछि धनभावमा चन्द्रमा प्रवेश हुनाले आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्न सक्छन। डुब्न लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने समय छ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो सङ्केत छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
व्यय क्षेत्रमा चन्द्रमा रहेकाले सुरुमा मन खिन्न भए पनि अपराह्नपछि मन भुलाउने उपायको खोजी हुनेछ । शत्रु परास्त हुनेछन। इष्टमित्रले पनि तपाईंको प्रशंसा गर्नेछन। परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । आफ्नो निर्णयमा गरिएका कामबाट बेफाइदा हुनेछैन । बन्दव्यापारमा फाइदा नै देखिन्छ । मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सुरुमा राज्यस्थानमा रहेको चन्द्रमाका कारण पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ । पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । आनन्दप्राप्ति र भोगविलासतर्फ मन केन्द्रित हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्ने छ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन, खर्च गर्न मन हौसिने छ । वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा सक्रिय भइने छ । रोकिएका सरकारी काम सुल्झाउन सकिन्छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन। प्रतिस्पर्र्धीहरू परास्त हुनेछन। सामाजिक र राज्यपक्षबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बन्दव्यापारमा राम्रै छ र लगानीबाट फाइदा हुन्छ । एकाबिहानै मनमा वैराग्य र निराशाको भाव उत्पन्न हुनसक्छ, तर दिन ढल्दै जाँदा कर्मप्रति समर्पित भई खट्ने अनुकूलता मिल्नेछ । आज बन्दव्यापार र कामधन्धाका क्षेत्रमा सधैंभन्दा बढी मिहिनेत गर्नु पर्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले तिक्तता आउन सक्छ, यद्यपि कर्मक्षेत्रमा चाप बढ्नाले रतिराग तथा पारिवारिक सम्बन्धप्रतिको आकर्षणमा कमी देखिने छ, तर घरायसी वातावरण धमिलिने स्थिति बन्दैन । खटेजति सफलता पाइने योग छ, जिम्मेबारीको क्षेत्रमा लगनशील भएमा अवश्यमेव लाभ मिल्ने समय छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!