विराटनगर । औद्योगिक क्षेत्रका विषयमा विराटनगरमा उद्योगी व्यवसायी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेबीच छलफल भएको छ । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयूक्त आयोजनामा छलफल कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले उत्पादनशिल उद्योगलाई आवश्यक पर्ने विदेशी श्रमिकलाई स्वास्थ्य मापदण्ड पुरा गरी सहजरुपमा ल्याउने व्यवस्था गर्न र उद्योग/व्यवसाय क्षेत्रमा परेको प्रभावलाई मध्यनजर गर्दै आयकर कारोवारको वार्षिक विवरण वुझाउने म्याद चैत्र मसान्तसम्म थप गर्न अर्थ मन्त्रालयमा पहलका लागि आग्रह गरे । त्यस्तैगरी असहज अवस्थालाई ध्यानमा राखी उद्योगहरुको विद्युत डिमाण्ड शुल्क पूर्ण रुपमा छुट दिन, प्रत्येक वर्ष वढ्ने क्रममा रहेको व्यापार घाटालाई सन्तुलनमा ल्याउन निर्यातयोग्य उद्योगहरुको प्रवद्र्धन र विकासका लागि सुनसरीको अमडुवामा रहेको साल्ट ट्रेडिङको जग्गामा सम्पूर्ण पूर्वाधार सुविधासहितको क्रश वोर्डर औद्योगिक ग्राम निर्माणमा उद्योग मन्त्रालयले अभिभावकत्व लिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले औद्योगिकीकरण भए मात्र आर्थिक रुपमा मुलुक समृद्ध हुने भएकाले औद्योगिक विकासका सवालमा सरोकारवालासँगको सहकार्य हुनु पर्ने बताए । उनले आत्मनिर्भर भएका उद्योगको संरक्षण, खुला सिमाना नियन्त्रणका साथै निर्यात प्रवद्र्धनका लागि नीतिगत व्यवस्था गर्न आग्रह पनि गरे ।
कार्यक्रममा उद्योग मन्त्रालयका सचिव घिमिरेले मूलुकमा लगानीका नयाँ क्षेत्रहरु पहिचान गरी आफुलाई स्थापित गर्न वजार, लगानी र प्रविधि मैत्री वनाउँदै लैजान उद्योगीलाई अनुरोध गरे । उनले आन्तरिक र वैदेशिक लगानीकर्ताहरुलाई विश्वास दिलाउदै नयाँ क्षेत्रहरुमा लगानी नवढाए पछाडि पर्ने भएकाले अन्तर निकायहरुबीच समन्वय गरी लगानी मैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
सचिव घिमिरेले आत्मनिर्भर भएका उद्योगहरुलाई पूर्ण जडित क्षमतामा संचालन गर्न सरकारले के कस्ता नीति अवलम्वन गर्नुपर्ने, उत्पादन लागत घटाउन, करका दायरामा गर्नुपर्ने संशोधनका विषयमा सुुझाव दिन आग्रह गर्दै औद्योगिक क्षेत्रमा लगानी अभिवृद्धि गर्न अनुरोध गरे । उनले मन्त्रालयले औद्योगिक कल्स्टर, औद्योगिक ग्राम, औद्योगिक क्षेत्र लगायतका क्षेत्रमा काम अघि बढाएको जानकारी दिए ।
मन्त्रालयका सहसचिव डा. नारायण प्रसाद रेग्मीले मन्त्रालयले औद्योगिक विकास लागि आवश्यक तथ्यांकको खाचोलाई दृष्टिगत गर्दै एकीकृत तथ्यांकको काम अगाडि वढाएको, सातै प्रदेशमा विजनेश ईन्क्यूवेशन सेन्टर स्थापनाका लागि काम थालेको र उद्योगहरुको प्रवद्र्धनका लागि नीतिगत सुधारमा मन्त्रालय अघि बढेको बताए । संगठनका पूर्व अध्यक्ष अशोक मुरारका र शिवशंकर अग्रवालले वैदेशिक लगानी कुन क्षेत्रमा ल्याउँने स्पष्ट हुनु पर्ने, मीरगंजको पूल निर्माणका लागि भारत सरकार समक्ष कुटनीतिक पहल गर्नुपर्ने, निर्यातमा दिदै आएको अनुदानको दायरा वढाउनु पर्ने सुझाव दिए ।
संगठनका वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेल, उपाध्यक्ष प्रदिप मुरारका, राकेश सुरानाले पूर्वाधारको अभावमा उत्पादन लागत वृद्धि भएको, वैंक व्याजदर अस्थिर भएको, स्वदेशी वस्तुको प्रवद्र्धनमा सरकारी निकायले अभिभावकको भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । मोरंग व्यापार संघका निवर्तमान अध्यक्ष पवन शारडा र उपाध्यक्ष अनुपम राठीले उद्योगको प्रवद्र्धनको जिम्मेवारी उद्योग मन्त्रालयले लिनुपर्ने, उद्योगहरुले आर्थिक विकासमा पु¥याउदै आएको योगदानलाई दृष्टिगत गर्दै उद्योगलाई संरक्षण गर्नुपर्ने धारणा राखे ।