- ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

बि.सं.२०७७ साल पुष २५ गते शनिबार ई. सं. २०२१ जनवरी ९ नेपाल सम्बत ११४१ थिंलाथ्व एकादशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पुष कृष्ण एकादशी, चन्द्रमा तुला राशिमा ७ः१८ सम्म त्यसपछि वृश्चिक राशिमा, विशाखा नक्षत्र १२ः.५३ सम्म त्यसपछि अनुराधा नक्षत्र, शूल योग ३ः१८ सम्म त्यसपछि गण्ड योग, बव करण ८ः५३ सम्म त्यसपछि तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः५६ बजे, सूर्यास्त साँझ ५ः२७ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज नेपाल ज्योतिषपरिषद् स्थापना दिवश परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर १५ मिनेट देखि ९ बजेर ३४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आठौं घरमा चन्द्रमा रहेको छ, यद्यपि तपाईंको राशिमा शुभग्रहको दृष्टि रहेकाले राम्रा र प्रसन्नताका समाचारहरू सुन्न पाउनु हुनेछ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ, तर अन्त्यमा मेलमिलापको वातावरण बन्नेछ । लामो समयदेखि गर्न नभ्याएका आवश्यक काम पुनः थालनी गर्न आज अनुकूल समय छ । मनमा कताकता चिन्ता र शङ्का सिर्जना भए पनि आज उत्साहमा कमी हुन दिनुहुँदैन । तपाईंको रोकिएको काम बन्न सक्छ । उपलब्धीमूलक यात्राको योग छ । गरेको कामबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
लामोसमयदेखि देखिएका उल्झन सल्झाउने महत्वपूर्र्ण दिन हो, आज । पेसा वा व्यवसायका असजिला पक्षको निराकरणका लागि गरिएको प्रयास सफल हुनसक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन। पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट समय अलि धमिलिएको महसुस हुनेछ । काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन। कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनुपर्छ । सामाजिक र परोपकारका मार्गमा तल्लीन भइने छ । पारमार्थिक काममा खर्चको मात्रा बढ्न सक्छ । बन्दव्यापारमा ठिकै छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
एकाबिहानै केही महत्वपूर्ण घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ, जसबाट भविष्यमा राम्रो फाइदा पुग्नेछ । दिउँसोबाट ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन् र अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन। कुनै दीर्घकालिक योजनालाई मूर्त बनाउन आजको चिन्तन र उपाय महत्त्वपूर्ण बन्न सक्छ । भाइबहिनी र छोराछोरीका क्रियाकलापबाट सन्तुष्टि मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
चतुर्थ चन्द्र भए पनि दिन लाभदायक नै देखिन्छ । व्यापार व्यवसायबाट मिहिनेत गरेबमोजिम लाभ लिनसकिने छ । सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन। यता घरैमा बस्नेले समेत सरलताको अनुभूति गर्नेछन। काममा विविध चुनौतीको सामना गर्नु परे पनि सफलता हासिल हुनेछ । शरीर फुर्तिलो हुनेछ, जोस र जाँगर बढ्नाले आम्दानीमा बढोत्तरी हुनेछ । बन्दव्यापार फस्टाउने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आत्मीयजनहरूसँग भेटघाट हुनेछ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन। यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । बन्दव्यापारका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आर्थिक पक्ष सुदृढ रहनुका साथै सम्पत्तिसम्बद्ध समस्याहरू समाधान हुनेछन। काममा सफलता पाइने छ । आज तपाईंको बोलीको कदर हुने दिन हो, महत्वपूर्ण स्थानमा बोली बिक्नेछ । पारिवारिक खुसी मिल्नेछ । दिदीबहिनी र करकुटुम्बले राम्रो सहयोग गर्ने छन। स्वास्थ्य सबल छ । नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । दीर्घकालिक लगानीका लागि उत्सुक हुनुहुन्छ भने आज राम्रो दिन छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन। तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन। कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण पनि तपाईंको पक्षमा रहनेछ । समग्रतामा अत्यन्त राम्रो परिणाम प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दिउँसोका तुलनामा बिहानको समय बढी सकारात्मक देखिन्छ । सुरुमा मनमा उत्साह र उमङ्ग देखिए पनि चन्द्रमा बाह्रौं घरमा रहने हुँदा आत्मबलमा कमी देखिन सक्छ, तर शरीरमा स्फूर्ति, उत्साह र उमङ्गलाई नत्याग्नु राम्रो हुन्छ । छरछिमेकी वा साथीभाइले काममा सहयोग गर्नेछन। अप्ठ्यारामा परेका व्यक्तिको सहयोग गर्दा धन खर्च हुनेछ । शुभकार्य वा दानपुण्यमा मन आकर्षित हुनेछ । रमाइलो र सार्थक यात्राको योग छ । घरभित्रका समस्या हल गर्न आर्थिक व्ययभार बढ्नसक्ने सम्भावना देखिन्छ । दिन छिप्पिंदै जाँदा तनाव र चिडचिडेपन बढ्न सक्छ । रिसराग र प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । विपरीतलिङ्गीसँग विनम्र भावले व्यवहार गर्दा राम्रो हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । भाइबहिनी वा सन्ततिका कारण खुसीको वातावरण बन्नसक्छ । बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन। साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन। ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आम्दानीमा कमी आउने छैन । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन। घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन। व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले थोरै तर सम्हाल्न सकिने नमिठोपना आउने सङ्केत भने देखिन्छ । आफन्तहरूले मनले चाहेजस्तै सहयोग गर्नेछन।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन। घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । आर्थिक पक्षमा टेवा पुग्नेछ । सामाजिक कार्यमा महत्वपूर्ण उपलब्धी हासिल हुनेछ । टाढा रहेका आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न पाउनु हुनेछ । मान्यजनको आशीर्वाद पाउनु हुनेछ । लामो दूरीको यात्रामा निस्कन वा यातायातको साधन किन्न आजको दिन अनुकूल छ । गरेका काममा भाग्यले साथ दिनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!