धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका युवाहरुले धनकुटामा सोमवार साँझ शक्ति प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघको अगुवाइमा संसद् विघटनको विरोध गर्दै बजारमा प्रदर्शन गरिएको हो ।
केही दिन अघि अनेरास्ववियूले आयोजना गरेको मसाल जुलुशमा केपी ओली समर्थक युवाहरुले हस्तक्षेप प्रयास गरेपछि आक्रोसित बनेका प्रचण्ड–नेपाल समूहका युवाहरुले शक्ति प्रदर्शन गरेका हुन् । सयौंको संख्यामा भेला भएका युवाहरुले संसद् विघटनविरुद्ध चर्को नारावाजी गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चर्को नारा लगाउँदै संसद् विघटन खारेज गर्न माग गरेका छन् । नारावाजीसहित भीमनारायण चौकबाट सुरु भएको जुलुश बीचबजार, भीमसेनथान, हुलाकटोल हुँदै मदनचौकमा आएर सभामा परिणत भएको थियो ।
सभालाई संवोधन गर्दै नेकपा धनकुटाका प्रचार विभाग प्रमुख एवं युवा नेता अर्जुन राईले प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेर ठूलो गल्ति गरेको बताए । ओलीले संविधानको हत्या गर्दै कम्युनिष्ट पार्टी प्रतिको जनआकर्षण घटाउँने काम गरेको भन्दै उनले ओली कदमविरुद्ध सडकमा उत्रन युवाहरुलाई आवहन गरे ।
प्रदर्शन अघि युवाहरुले बजारमा मसाल जुलुश निकाल्ने तयारी गरेका थिए । तर, प्रशासनले मसाल जुलुश ननिकाल्न आग्रह गरेपछि पार्टीको झण्डा बोकेर जुलुश प्रदर्शन गरिएको राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य डिप्लव राईले जानकारी दिए ।