संगालोखबर सम्वाददाता
पत्रकार सम्मेलनमा बोल्दै मन्त्री तुम्वाहाम्फे । तस्वीर: संगालोखबर

विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाम्फेले संसद् विघटन गरेर नयाँ जनादेश खोज्नु अग्रगामी कदम भएको टिप्पणी गरेकी छन् । विराटनगरमा सोमवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री तुम्बाहाम्फेले संसदमा ६४ प्रतिशत मतसहितका प्रधानमन्त्रीले आफूले काम गर्न नपाएको भन्दै ताजा जनादेशमा जान संसद विघटन गर्नु अग्रगामी कदम भएको टिप्पणी गरेकी हुन् ।

‘दुईतिहाइको बहुमत पुगेको दललाई सरकार सञ्चालन गर्न दिइएन र अप्ठयारो परिस्थितिको सिर्जना गरियो,’ उनले भनिन्, ‘त्यो अप्ठयारोलाई सजिलो बनाउनका निम्ति प्रत्यक्ष निर्वाचनमा गएर ताजा जनादेश ल्याएर बहुमत प्राप्त दलले सरकार सञ्चालन गर्ने आङ्कलन स्वरुप संसद विघटन गरिएको हो ।’ मन्त्री तुम्बाहाम्फेले आर्थिक व्यवस्थापन, सुरक्षा अवस्था र निर्वाचन आयोग तयार रहेकाले आगामी बैशाख १७ र २७ का लागि घोषणा गरिएको चुनाव गर्न कुनै समस्या नहुँने दावी गरिन् ।

Advertisement

तुम्बाहाम्फेले संसद पुनःस्थापना गर्ने नगर्ने विषयमा सर्वोच्च अदालतले निर्णय दिने भएकाले आफूले त्यसबारे धेरै टिप्पणी नगर्ने बताइन् । ‘संसद पुनःस्थापनाको विषय अदालतमा विचाराधिन अवस्थामा छ,’ मन्त्री तुम्बाहाम्फेले भनिन्, ‘यस विषयमा म धेरै टिप्पणी गर्दिन । तर, संसद पुनःस्थापना भएको खण्डमा भने पुरानै प्रक्रिया अनुसार देश चल्छ ।’

फरक प्रसंगमा मन्त्री तुम्वाहाम्फेले पार्टी विभाजनमा विदेशी शक्तिको हात नरहेको जिकिर गर्दै नेकपा फुट्ने र जुटने बिषयमा कुनै विदेशी शक्तिको आग्रह पूर्वाग्रह काम नलाग्ने स्पष्ट पारिन् । पार्टी अझै नफुटेको र थोरै मानिसहरु पार्टी छोडेर गएको उनको दावी छ । भारतीय पक्षले मिचेको लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई वर्तमान सरकारले नै नेपाली नक्सामा समेटी संविधान संशोधनमार्फत निशान छाप अद्यावधिक गरेकोले यो ऐतिहासिक उपलब्धि भएको उनले बताईन् ।

अर्को प्रसंगमा उनले प्रतिनिधिसभा नरहेको अवस्थामा वर्तमान सरकार कामचलाउ भइसकेको बताइन् । प्रधानमन्त्री नै संविधान अनुसार कामचलाउ भएकाले सबै मन्त्रीहरु पनि कामचलाउकै अवस्थामा रहेको उनको भनाई छ । यद्यपि खाली रहेका मन्त्रालयमा मन्त्री नियुक्ति गर्न भने प्रधानमन्त्रीलाई संवैधानिक अड्चन नरहेको तुम्बाहाम्फेले बताईन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!