सुनसरी । कोशी टप्पु बन्यजन्तु आरक्षको मकुना हात्तीले मान्छे मारेपछि मृतकका आफन्त र स्थानीयबासीले आज सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । हात्तीको आक्रमणबाट गएराती कोशी गाउँपालिका–४ का १९ बर्षीय मोती कामतको मृत्यु भएपछि आक्रोसित उनका आफन्त र स्थानीयबासीले जुद्धगञ्जमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।
सोही हात्तीले मंसिर २९ गते पनि स्थानीय एक जनालाई आक्रमण गर्दा उनको मृत्यु भएको थियो । १५ दिनको अवधिमा हात्तीले दुई जनाको ज्यान लिइसक्दा पनि हात्ती नियन्त्रण र व्यवस्थापनमा चासो नदेखाइएको भन्दै स्थानीयबासी आक्रोसित भएका हुन् । उनीहरुले मृतक कामतको शव सडकमा राखेर प्रदर्शन गरेका हुन् । सयौंको संख्यामा भेला भएका स्थानीयबासीले बिहान १० बजेदेखि १ बजेसम्म तीन घण्टा प्रदर्शनसहित टायर बालेर सडक अवरुद्ध गरेका हुन् ।
उनीहरुले हात्तीलाई व्यवस्थापन गरेर स्थानीयवासीको जीउधनको रक्षाका लागि दीर्घकालिन उपाय खोज्नुपर्ने माग अघि सारेका छन् । स्थानीयबासीको मागका विषयमा प्रमुख जिल्ला अधिकारीसहितको टोलीसँग वार्ता हुँने भएपछि सडक खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नरेन्द्र कुमार कार्कीले संगालोखबरलाई जानकारी दिए ।