ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

बि.सं.२०७७ साल पुष ८ गते बुधबार ई. सं. २०२० डिसेम्वर २३ नेपाल सम्बत ११४१ थिंलाथ्व नवमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग शुक्ल नवमी, चन्द्रमा मीन राशिमा ४ः४४ सम्म त्यसपछि मेष राशिमा, रेवती नक्षत्र ४ः.४५ सम्म त्यसपछि अश्रिनी नक्षत्र, वरियन योग १२ः५९ सम्म त्यसपछि परिधि योग, बालव करण ६ः३१ सम्म त्यसपछि तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः५२ बजे, सूर्यास्त साँझ ५ः१५ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै पनि पर्व तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५२ मिनेट देखि ९ बजेर २८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सुरुमा बाह्रौं चन्द्रमा छ, दिउँसो तपाईंको आफ्नै घरमा चन्द्रमा आइपुग्छ, त्यसैले कुनै महत्त्वपूर्ण निर्णय लिनु छ वा यात्राको योजना छ भने साँझपख राम्रो हुनेछ । दिनको सुरुवातमा साथीभाइ र घरपरिवारबाट सोचेको सहयोग प्राप्त हुँदैन । स्फूर्ति र उमङ्गको कमी हुनेछ तर अपराह्नतिर विलासिता र रमणीयतातर्फ मन आकर्षित हुनेछ । भोगविलास र रामरमाइलोमा खर्चबृद्धि हुनसक्छ । प्रारम्भमा मनमा दोधार भए पनि अन्त्यमा उत्साह र उमङ्गमा कमी हुने छैन, जोस र जाँगर बढ्ने दिन छ, तर आज हतार वा आवेशमा आएर कुनै काम नगर्नु होला । महत्त्वाकाङ्क्षा त्यागी अघि बढेमा लाभ मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सुरुमा राज्यस्थानमा रहेको चन्द्रमाका कारण पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ । पशुपालन र कृषि व्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । आनन्द प्राप्ति र भोगविलासतर्फ मन केन्द्रित हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्ने छ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन, खर्च गर्न मन हौसिने छ । वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा सक्रिय भइने छ । रोकिएका सरकारी काम सल्झाउन सकिन्छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन । सामाजिक र राज्यपक्षबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
बन्दव्यापारमा राम्रै छ र लगानीबाट फाइदा हुन्छ । एकाबिहानै मनमा वैराग्य र निराशाको भाव उत्पन्न हुनसक्छ, तर दिन ढल्दै जाँदा कर्मप्रति समर्पित भई खट्ने अनुकूलता मिल्नेछ । आज बन्दव्यापार र कामधन्धाका क्षेत्रमा सधैंभन्दा बढी मिहिनेत गर्नु पर्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले तिक्तता आउन सक्छ, यद्यपि कर्मक्षेत्रमा चाप बढ्नाले रतिराग तथा पारिवारिक सम्बन्धप्रतिको आकर्षणमा कमी देखिने छ, तर घरायसी वातावरण धमिलिने स्थिति बन्दैन । खटेजति सफलता पाइने योग छ, जिम्मेबारीको क्षेत्रमा लगनशील भएमा अवश्यमेव लाभ मिल्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अपराह्नपछि चन्द्रमाको शुभ फल प्राप्त हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । बिहानीपख बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । मानसिक खिन्नता र वैराग्य जाग्नेछ । अल्छी लाग्दो समय हुनेछ । तर दिन ढल्नासाथ आज कुनै बिग्रिनै लागेको काम बन्न सक्छ, किनभने दिउँसो भाग्यभावमा चन्द्रमाको प्रवेश हुनेछ । पारमार्थिक कामप्रति चासो बढ्ने छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सजग रहनु राम्रो हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
दिउँसोसम्म राम्रो दिन रहेकाले तपाईंले कुनै महत्वपूर्ण काम छ भने मध्याह्नभित्रै सिद्ध्याउनु राम्रो हुनेछ । सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरपुर सहयोग प्राप्त हुने छ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ । साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन । तर अपराह्नमा आठौं घरमा चन्द्रमा पुग्ने भएकाले के गर्ने के नगर्ने भन्ने बेचैनी हुनसक्छ । स्वास्थ्यमा सामान्य कमजोरी भएको अनुभूति हुनेछ । मन भावना र कल्पनामा रुमल्लिन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
दिउँसोसम्म छैंठौं सकारात्मक चन्द्रमा रहेकाले मावली वा आमाको आशीर्वाद प्राप्त हुनेछ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्द प्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन । पारिवारिक खुसीका लागि खर्च बढ्ने छ । पतिपत्नी र प्रेमीप्रेमिकाका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । कुनै खुसीको खबर प्राप्त हुने सम्भावना पनि छ

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
दिनको प्रारम्भमा गरेका चिन्तन र उपाय महत्त्वपूर्ण बन्ने छन । मन ज्ञानगुन, अध्यात्म र दर्शनप्रति आकर्षित बन्ने छ, पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन । भाइबहिनी वा सन्ततिपक्षले खुसीको वातावरण बनाउने छन। तिनीहरूको समस्यामा केन्द्रित हुनुपर्छ । दिउँसो छैटौं भावमा चन्द्रमा जाने भएकाले संयम र अनुशासित भई अघि बढ्नु राम्रो हुन्छ । दिउँसोबाट व्यर्थका तर्क, बहस र वादविवादको परिस्थिति सिर्जना हुनेछ । विवाद भइ हाले पनि विजय र श्रेय तपाईंले नै पाउनु हुनेछ । आज आमा वा मामाको सल्लाहमा गरिएको काममा फाइदा हुनसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आजबाट पारिवारिक वातावरणमा सुधार आउने छ । घरपरिवारमा खुसीको वातावरण छाउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । इष्टमित्र र नातेदारका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुकीपख दार्शनिक र आध्यात्मिक विषयवस्तुको आकर्षण बढ्ने देखिन्छ । ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । पैसाको मामिलामा खासै फरक पर्ने देखिन्न ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
राम्रो र नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । यात्राको सम्भावना छ । बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका चौथो घरमा चन्द्रमा जाने भएकाले घरायसी समस्याहरू देखापर्न सक्छन । पतिपत्नी वा प्रेमीरप्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ, तर डराउनु पर्दैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
धार्मिक र सामाजिक काममा समय बित्ने दिन छ । बन्द व्यापार र कृषिक्षेत्रमा मध्यम छ । धनागमका दृष्टिले आजको दिन सामान्यतया ठिकैको दिन रहने छ, तर व्यवहारिक कठिनाइको सामना गर्नु पर्ला । आहारविहार र खानपानको समय बदलिन सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सचेत रहनु होला, बोलीमा खासै प्रभाव रहने छैन । तपाईंको भावनाको कदर नहुनसक्छ । कताकता भाग्यलाई दोष दिन मन लाग्नेछ । मनमा वैराग्यको भावना पलाउन सक्छ र आध्यात्मिक र दार्शनिक भावनाको विकास हुनेछ । तर आज गरिएको परोपकारको कामबाट रोकिएको काम बन्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आजबाट पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन । पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । कुनै भौतिक सामान खरिद गर्नका बेलुकीपख राम्रो छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । अपराह्नपछि धनभावमा चन्द्रमा प्रवेश हुनाले आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्न सक्छन । डुब्न लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने समय छ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो सङ्केत छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!