काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले बोलाएको पार्टीको केन्द्रिय कमिटी बैठक बालुवाटारमा जारी छ । ओलीले बोलाएको पार्टीको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा अनुपस्थित भएका छन् । बालुवाटारमा जारी बैठकमा गौतम र थापा नगएका हुन् ।
उपाध्यक्ष गौतमले यसअघि नै दुवै तर्फका बैठकमा सहभागि नहुँने घोषणा गरिसकेका छन् । उनले पार्टी फुटको साक्षी नबस्ने घोषणा गरेका हुन् । सचिवालय सदस्य थापाले दुवै अध्यक्षसँग छलफल गरेपछि मात्रै अघि बढ्ने बताउँदै आएका छन् । बैठकमा पूर्वमाओवादी समूहका नेता टोपबहादुर रायमाझी र मणि थापा भने सामेल छन् ।
बैठकबाट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई कारबाही गर्ने तयारी भएको स्रोतले जनाएको छ । यसैबीच, दाहाल–नेपाल समूहले पनि दिउँसो १ बजे केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।