बिराटनगर । नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेसँगै नेकपाले पाएको जनमतको बैधता सकिएको बताएका छन् । प्रधानमन्त्री ओलीले लहडमा संसद विघटनको निर्णय लिएको भन्दै उनले यो निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन् ।
‘संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ । प्रधानमन्त्रीज्यूले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ ।’ नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन्–‘यसको संवैधानिक व्याख्या हुन्छ नै तर, जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ ।’
प्रधानमन्त्री ओलीले आईतबार बिहान बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने प्रस्ताव गरेपछि अहिले यसको सर्वत्र आलोचना र चर्चा भईरहेको छ ।