रासस

काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौंमा आज वर्षकै न्यूनतम तापक्रम एक दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार काठमाडौंको न्यूनतम तापक्रम दुई दशमलव दुई डिग्री थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

गत वर्ष पुस ३ गते काठमाडौंको न्यूनतम तापक्रम तीन दशमलव तीन डिग्री रहेकामा यस वर्ष एक दशमलव छ पुगेको छ । ‘सिजनल इफेक्ट’ ले न्यूनतम तापक्रम घटबढ भइरहेको मौसमविद् वरुण पौडेलले बताए । ‘कुनै पनि मौसमी प्रणाली विकसित नभए काठमाडौंको न्यूनतम तापक्रम अबको दुई/तीन दिन एकदेखि दुई डिग्रीको हाराहारीमै रहन्छ,’ मौसमविद् पौडेलले भने ।

तापक्रम घटेपछि काठमाडौं उपत्यकामा बढी चिसो महसुुस गरिएको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुका बढी चिसो हुने गरेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम एक दशमलव छ डिग्री र अधिकतम तापक्रम १८ दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस सात दशमलव शून्य डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको न्यूनतम तापक्रम नौ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!