युवराज बिष्ट

भोजपुर । भोजपुरमा भुवादार जापानी तितेपातीको व्यवसायीक खेती थालिएको छ । प्रयोगविहिन जमिनलाई सदुपयोग गर्दै थोरै लगानीमा राम्रो आम्दानी लिन सकिने भएकाले अरुण गाउँपालिका–४ चरम्वी र्याङका दुई युवाले जिल्लामै पहिलो पटक तितेपातीको व्यवसायीक खेती थालेका हुन् ।

Advertisement

छोटो समयमा उत्पादन हुने तथा विभिन्न जडीबुटीका लागि बजार माग राम्रो भएकाले तितेपाती खेती थालिएको युवाहरु बताउँछन् । उनीहरुले संखुवासभाबाट विरुवा ल्याएर करिव २ रोपनी क्षेत्रफलमा करिव ८ हजार तितेपातीको खेती सुरु गरेका हुन् ।

अहिले थोह्रै क्षेत्रफलमा परिक्षणको रुपमा लगाईएको भएपनि राज्यको तर्फबाट आवश्यक आर्थिक तथा प्राविधिक सहयोग मिलेमा थप ६० रोपनीमा खेती विस्तार गर्ने योजना रहेको कृषक झिलबहादुर राईले बताए । तितेपातीलाई प्रत्येक १५ देखि २० दिनमा संकलन गर्न सकिने कृषक राई बताउँछन् । कच्चा पदार्थको रुपमा यसको सुकेको पात तथा डाँठ प्रतिकेजी ५० रुपैयाँमा विक्री हुने उनको भनाइ छ ।

बाँझो जमिनमा तितेपातीको खेतीलाई विस्तार गर्न सके स्थानीयको आर्थिक विकासमा टेवा पुग्ने भएकाले डिभिजन वन कार्यालयले यसमा चासो देखाएको छ । यसको सम्भावनाको विषयमा थप अध्ययन, अनुसन्धान गर्ने र राम्रो हुने देखिएमा पकेट क्षेत्र बनाएर बैकल्पिक खेतीको रुपमा जिल्लाका अन्य स्थानमासमेत विस्तार गर्ने डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए ।

बाँदर लगायत अन्य समस्याका कारण धेरै जमिनहरु बाँझै रहेको अवस्थामा तितेपाती वैकल्पिक खेती हुन सक्ने देखिएपछि स्थानीयबासीले पनि यसमा चासो देखाउँन थालेका छन् । तितेपातीलाई बाँदरलेसमेत क्षति नगर्ने र राम्रो आम्दानी लिन सकिने भएपछि बैकल्पिक खेतीको रुपमा विस्तार गर्न सके यसले स्थानीयसँगै राज्यलाईसमेत टेवा पुग्ने स्थानीय जानकारहरु बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!