काठमाडौं। अमेरिका र जापान पठाउने लोभ देखाउँदै करिब २ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाहलाई पक्राउ गरेको छ।

शाहले ७१ जना युवासँग १ करोड ९७ लाख रुपैयाँ उठाएर फरार भएको भन्दै महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो। प्रहरीले उनीसँगै बस्ने रक्षा वैद्यलाई पनि पक्राउ गरेको छ।

‘लिभिङ टुगेदर’ मा बस्दै आएका उनीहरूले ‘सरकारी कोटामा जापान र अमेरिका लैजान्छौं’ भनेर ७१ जना युवालाई बिचल्ली पारेपछि पक्राउ गरिएको महाशाखाका एसएसपी दिनेश अमात्यले जानकारी दिए। ठगीमा परेका अधिकांश तरुण दल र नेविसंघका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ।

‘उनीहरूले जापान जान १० लाख र अमेरिका जान २० लाख लाग्ने भन्दै पैसा उठाउँदा रहेछन्,’ छानबिनमा संलग्न एसएसपी अमात्यले सेतोपाटीसँग भने, ‘पेस्कीस्वरुप एक जना युवाबाट कम्तीमा ३ र बढीमा ५ लाख उठाएको खुल्न आएको छ।’

अमात्यका अनुसार ठगीपछि उनीहरू दुई जना काठमाडौंमा घर हुँदा हुँदै अपार्टमेन्टमा बस्दै आएका थिए। सुरुमा स्वयम्भुस्थित रिट्रिट अपार्टमेन्टमा बसेका थिए भने त्यसको तीन महिनापछि ललितपुरको ब्रज अपार्टमेन्टमा बसेको अनुसन्धानबाट खुल्न आएको छ।

बज्रमा एक महिना बसेपछि उनीहरू ललितपुरको हिमालयन अपार्टमेन्टमा बसेको एसएसपी अमात्यले बताए। ‘आफूले पैसा उठाएका मान्छेलाई छल्न उनीहरू काठमाडौंभित्रै ठाउँ फेर्दै बस्ने गरेका थिए,’ उनले भने।

प्रहरीका अनुसार ऋषिकेश र रक्षा दुवै विवाहित हुन्। उनीहरू आफ्ना श्रीमान र श्रीमतीसँग बस्दैनन्, तर सम्पर्कमा छन्। ‘उनीहरूले आफू लिभिङ टुगेदरमा बसेर एकअर्काको श्रीमान–श्रीमतीलाई नै प्रयोग गरी पैसा असुल्दै आएको पाइएको छ,’ अनुसन्धानमा संलग्न डिएसपी शिव श्रेष्ठले भने।

उनीहरूले पैसा ठगेका ७१ जनामध्ये अधिकांश सल्यान जिल्लाका छन्। शाहको घर पनि सल्यान नै हो। उनले रक्षालाई आफूसँगै गाउँमा लगेर कहिले दूतावासको कर्मचारी त कहिले सरकारी कर्मचारी भन्दै चिनाएका थिए।

गत पुस महिनामा जापान जाने टिकट आइसक्यो भनेर शाहले सल्यानबाट एक दर्जनभन्दा बढी युवालाई काठमाडौं बोलाएका थिए। जापान जाने सपना बोकेका युवाहरू जब घरबाट विदा भएर काठमाडौं आए, शाहसँग सम्पर्क हुन सकेन। त्यसपछि प्रहरीलाई उजुरी दिएको सल्यान छत्रेश्वरीका जगत बुढाथोकीले बताए।

‘नेविसंघको उपाध्यक्ष हुँदा उनले नै हामीलाई राजनीतिमा ल्याएका हुन्,’ बुढाथोकीले भने, ‘अहिले हामीलाई बिचल्लीमा पार्यो।’

प्रहरीमा उजुरी परेपछि त्यसको बचाउ गर्दै शाह आफैं महाशाखामा जाहेरी दिन गएका थिए। अनुसन्धान क्रममा वैद्यसँग मिलेर शाहले नै रकम उठाएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

ठगिएको रकम उठाउन आएका सल्यानका ३० जनाभन्दा बढी युवा काठमाडौंको सुन्धारास्थित होटलमा बस्दै आएका छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!