धनकुटा । पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको काममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले चासो देखाउँन थालेको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको झण्डै साढे तीन बर्षपछि नेकपाले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिको कामको समिक्षा गरिरहेको छ ।
नेकपाको एकता हुँनुअघि २०७४ असारमा भएको स्थानीय तह निर्वाचनमा तत्कालिन एमाले र माओवादीका तर्फबाट धनकुटामा झण्डै ९० प्रतिशत जनप्रतिनिधि निर्वाचित भएका छन् । सात वटै पालिकाका प्रमुख र उप–प्रमुख नेकपाकै छन् । पाख्रीवास नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा सबै जनप्रतिनिधि नेकपाका मात्र छन् । सहिदभूमिमा पनि एक जनाबाहेक सबै नेकपाकै जनप्रतिनिधि छन् । अन्य पालिकामा पनि अधिकांस जनप्रतिनिधि नेकपाबाटै निर्वाचित छन् ।
पाँच बर्षका लागि निर्वाचित भएका उनीहरुको कार्यकाल सकिन अब डेढ बर्षमात्र बाँकी छ । पार्टीबाट निर्वाचित जनप्रतिनिधिको कार्यकालको सफलता वा असफलताले आगामी निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले नेकपाले जनप्रतिनिधिको कामलाई नजिकबाट नियाल्न थालेको हो । यही क्रममा नेकपाले अहिले जनप्रतिनिधिहरुको कामको ‘क्रस चेक’ गरिरहेको छ ।
एउटै पालिकाका जनप्रतिनिधिहरुबीच बेग्ला–बेग्लै समिक्षा कार्यक्रम भईरहेको छ । दुई चरणमा समिक्षात्मक कार्यक्रम भईसकेको छ भने अझै समिक्षाको क्रम सकिएको छैन । पहिलो चरणमा सात वटै पालिकाका उप–मेयर र उपाध्यक्षहरुसँग पार्टीले जिल्ला समन्वय समितिको कार्यालयमा समिक्षात्मक कार्यक्रम गरेको छ । दोस्रो चरणमा सात वटै पालिकामा पार्टीबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यहरुसँग जोरपाटी, हिले र डाँडाबजारमा समिक्षात्मक कार्यक्रम भईसकेको छ । मंसिर १३ गते छथरबाट सुरु भएको दोस्रो चरणको कार्यक्रम १६ गते डाँडाबजारमा सकिएको छ ।
अब, अन्य जनप्रतिनिधिहरुबाट आएका सुझाव, कमजोरी र सुधार गर्नुपर्ने पक्षका बिषयमा पालिकाका प्रमुखहरुसँग समिक्षात्मक कार्यक्रम गरिने भएपनि मिति भने तय गर्न बाँकी रहेको नेकपाले जनाएको छ । एउटै पालिकाका जनप्रतिनिधिहरुबीच एकैपटक कार्यक्रम गर्दा कमी कमजोरी खुलस्त रुपमा आउँन नसक्ने भएकाले जनप्रतिनिधिहरुलाई फरक–फरक राखेर कार्यक्रम गरिएको नेकपा स्थानीय तह बिभागका सचिव नैन विश्वकर्माले बताए । ‘पालिकाका प्रमुख र कार्यपालिका सदस्यलाई सँगै राखेर समिक्षा गर्यो भने पालिका प्रमुखको कमजोरी पत्ता लाग्दैन । वडाध्यक्षको हकमा पनि त्यही हुन्छ ।’ सचिव विश्वकर्माले संगालोखबरसँग भने–‘त्यसैले एक–अर्काका कमी कमजोरी र सुधार गर्नुपर्ने पक्षलाई पत्ता लगाएर कार्यान्वयन गर्न जनप्रतिनिधिहरुलाई फरक–फरक राखेर समिक्षा गरेका हौं ।’
घोषणापत्र अनुसारको काम र जनप्रतिनिधिबीच काममा समन्वय भए/नभएको बिषयमा पनि व्यापक छलफल भएको छ । जनप्रतिनिधिका कमजोरी र सुधार गर्नुपर्ने पक्ष यकिन गरी पार्टीको तर्फबाट नेताहरुले निर्देशन दिने काम पनि भईरहेको बताईएको छ । पार्टी निकट जनप्रतिनिधिहरुको भूमिकालाई प्रभावकारी बनाएर आगामी निर्वाचनमा अझ बढी जित हासिल गर्ने योजनासहित चुनावको तयारी स्वरुप पार्टीभित्र काम भईरहेको नेकपा स्रोतले जनाएको छ ।