राजविराज।एक हप्ता अगाडि सप्तरीमा अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित परिवारलाई विभिन्न सङ्घ संस्थाले राहत वितरण गरेका छन् ।
मोहुली खोलालगायत विभिन्न नदीमा आएको बाढीले सप्तरी जिल्लाको लोहजरा गाविसका प्रभावित स्थानीय बासिन्दालाई झापाका रोट्र्याक क्लब अफ काँकडभिट्टा, रोट्र्याक क्लब अफ बिर्तामोड मिड् टाउन र मधेसी एसोसियसन अफ अमेरिकाले संयुक्त रुपमा १०० थान झुल, प्रत्येक परिवारलाई पाँच किलोका दरले चामल, खानेतेल, दाल र प्रत्येक परिवारलाई एक बोरा भुजा, २० कार्टुन वाइवाइ चाउचाउ र २० बोरा लत्ता कपडा वितरण गरिएको रोट्र्याक क्लब अफ काँकडभिट्टाले जनाएको छ ।
त्यहाँ करिब ९७ घर परिवारलाई रु एक लाख मूल्य बराबरको राहत साम्रगी वितरण गरिएको बताइएको छ । यस्तै बाढीबाट पीडित परिवारलाई जनकपुरको सक्रिय संयुक्त मधेस सङ्घर्ष समितिले समेत राहत प्रदान गरेको छ ।
समितिका पदाधिकारीले सप्तरी पुगेर जिल्लाको बाढी प्रभावित क्षेत्र मैनाकडेरी र रधुनाथपुरका पीडित परिवारलाई राहतस्वरुप विभिन्न सामग्री बाँडेका थिए ।
उक्त समितिले सप्तरीमा रु पाँच लाख मूल्य बराबरको त्रिपाल, ओछ्याउने फोम, लताकपडासहित औषधिसमेत बाँडेको सो समितिले जनाएको छ ।
त्यस्तै सप्तरीको खाँडो नदीको कटानबाट प्रभावित मलेठका बढी पीडित परिवारलाई जनज्योति कृषि सहकारी संस्थाले पनि संस्थाका बचतकर्ता तथा ऋणीलाई राहत वितरण गरेका छन् ।
उक्त संस्थाले संस्थाका बचतकर्ता एवम् ऋणीलाई नगद रु दुई हजारका दरले संस्थाको कार्यालयमा एक कार्यक्रमबीच सो राहत वितरण गरेको हो ।
संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षता तथा समाजसेवी हरेकृष्ण प्रसादसिंह हरिबाबुको प्रमुख आतिथ्य एवम् वरिष्ठ पत्रकार अनिलकुमार अनल उपस्थितिमा राहत वितरण गरिएको बताइएको छ ।
यसैगरी राजविराज नगरपालिका–९ को दलित बस्तीमा हेल्प नेपाल नेटवर्क काठमाडौँको सहयोग तथा धर्मी हल्फा महिला विकास क्लब सप्तरीको संयोजनामा मलेठका बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ ।
मलेठ–७ हाल राजविराज नगरपालिका–९ का ३२ परिवार र दिघवाका–४ गरी ३६ परिवारलाई राहत वितरण गरिएको क्लबका अध्यक्ष इन्जिनियर सूर्यनारायण यादवले बताउनुभयो ।